
फाइल फोटो गुगल
काठमाण्डौ – असार १ गतेबाट सार्वजनिक सडकहरु खन्न नपाइने भएको छ । सरकारले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देश गरेको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्र्तरगत सडक विभाग, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आज जेठ ३० गते सार्वजनिक सूचना जारी गर्दै तीन महिनाको अवधिभर सडक खन्न रोक लगाएको हो । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले खन्न रोक लगाएको कार्यालयले जानकारी दिएको छ ।
‘सडक पनि बिग्रदै जाने भएकोले यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ,’ सूचनामा भनिएको छ ।सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउने क्रम चलिरहेको पाइन्छ । वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाएको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको भनाई छ ।