
सम्पादकीय
किसानहरुको मुख्य महिना सुरु भएको छ । असारको महिनालार्ई मानो रोपेर मुरी फलाउने महिनाका रुपमा लिने गरिन्छ । हिलो छ्यापेर रमाइलो गर्ने, लोप हुन लागेका असारे भाका गुनगुनाउने, बाजा बजाउने नाच्ने अनि रमाइलो हुने भएर नै हो असारलाई किसानले पर्वकै रुपमा हेर्ने गरेका छन् ।
सरकारले पनि असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने गरेको छ । किसानमा यो बेला एक प्रकारको उत्साह र उमंगले भरिएको हुन्छ । अझ जब पानी पर्छ तब किसानको मुहारको अर्कै प्रकारको हासो प्रकट हुन्छ । अझ भनौं अरु बेला अलिकति माटो लाग्दा पनि मन नपराउनेहर समेत हिलोमा हिलाम्मे भएर अरुलाई हिलो छ्यापे र आफु हिलाम्मे हुँदा पनि रमाइलो मानिरहेको हुन्छ । यसरी हिलाम्मे किसान मंसिरमा अन्नलाई भित्र्याउने सपनामा लठ्ठ बनेका हुन्छन् । यहि हो असारको विशेषता । तर पछिल्लो वर्षहरुमा यसरी रमाउने किसानहरु रमाउन सक्ने अवस्था बनिरहेको छैन । यसको मुल कारण भनेको समयमा बल पाउन नसक्नु नै हो । पछिल्ला वर्षहरुमा रासायिनिक मलको अभावका कारण किसानहरुले भनेजस्तो रुपमा बाली भित्र्याउन सकिरहेका छैनन् । १० बोरा मल चाहिने किसानले दामासाहीमा एक बोरा मलमा चित्त बुझाउनु परेको छ । त्यो पनि घण्टौं लाईमा बसेर मात्र पाइन्छ । यस्ता समस्याका कारण किसानमा देखिएको उर्जा कमजोर हुँदै गएको छ । छुपुमा छुपु धान रोप्ने रोपाहरुले असारे गीत गाएर खुलेर रमाइलो गर्न सकिरहेका छैनन्
देश गणतन्त्रमा गयो,जनताले लडेर राजाको ठाउँमा जनताका छोरा छोरीलाई राष्ट्पतिसम्म बनाए । आफ्ना अधिकारहरु गाउँघरमा ल्याउन सफल पनि भए तर त्यसको नेतृत्व गर्नेहरुको असक्षमताका कारण किसानहरु आफै मारमा परिरहेका छन् । कहिले मलको अभाव, कहिले बिउको त कहिले बजारको अभाव झल्नु सिकानको बाध्यता बन्दै आएको छ । यहि कारण हाम्रो जस्तो ६० प्रतिशत कृषिमा आश्रित भएका नागरिकहरु पनि आज आफ्नो पेशा छाडेर धमाधम विदेश पलायन भएका छन् । युवाहरुमा कृषिप्रतिको आकर्षण मर्दै गएको छ । यसान अन्य कारणहरु पनि छन्,तर त्यस मध्येको महत्वपूर्ण कारण समयमा मल बिउँ नपाउनु एक हो ।
वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले यो पटक मलको अभाव हुन नदिने त भनेको छ तर अझै त्यसको सुनिश्चित गर्न सकेको छैन । आज असारको ५ गते भैसकेको छ । किसानहरु आफ्नो खेतमा पसिसकेका छन् । अब सरकारले छिटो भन्दा छिटो बजारमा मलको व्यवस्था गर्न सक्नुपर्दछ । किसानले भनेको अरु केही छैन, सयमा मल चाहियो भनेका हुन त्यति पनि राज्यले दिन सक्दैन भने जनत राज्यससँग कसरी विश्वस्त हुन सक्छन् । तसर्थ सरकारले छिटो भन्दा छिटो मलको व्यवस्था गरोस् र किसानको मुहारमा यो पटक समयमा नै खुशी ल्याउन सकोस् । होइन भने यो सरकारप्रति पनि जनताको विश्वास टुट्ने छ । चेतना भयाँ ।