
हेटौँडा, असार ७ गते । लहरुबिच सहमति नजुटेपछि बागमती प्रदेश सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमाथि छलफल गर्ने कार्य सूची रहेको भएपनि दलहरुबीच सहमति कायम नभएपछि आजको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको छ ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा बजेटका बारेमा दलहरुबिच सहमति नजुटेपछि दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रदेश सभाका सचिव कृष्णहरि खड्काले विशेष कारणबश ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सारिएको भएपनि सहमति भने हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा त्रुटि रहेको भन्दै पुनर्लेखन नगरेसम्म प्रदेश सभा चल्न नदिने अडान लिएपछि प्रदेश सभाको बिहीबारको बैठक अवरुद्ध बनेको थियो ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिला गरी दिउँसो १ बजे सुरु भएकोमा कांग्रेसले उठेर विरोध जनाएपछि सभामुख पाठकले कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामालाई बोल्न दिनुभयो ।कांग्रेस नेता लामाले प्रदेश सरकारले आगामी आवका लागि ल्याएको बजेट लेखन तारतम्य नमिलेको र बजेट कार्यान्वयनमा सुशासन कायम गर्नुपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले आफैँले असन्तुलित र मर्यादा नाघेर ल्याएकाले बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्नुभयो ।