
विदुर । किस्पाड. गाउँपालिकाले पनि संविधानमा उल्लेख गरिएको समयसिमाभित्रै बजेट ल्याएको छ । असार १० गते सोमबार गाउँपालिकामा आयोजित गाउँसभामा अध्यक्ष बिरवल तामाड.ले पेश गर्नुभएको नीति तथा कार्यक्रम र बजेट सर्वसम्वत रुपमा पारित गरिएको छ । गाउँसभामा उपाध्यक्ष अर्जुन न्यौपानले आर्थिक वर्ष २०८१।८२ का लागि ४६ करोड,८५ लाख ९८ हजारको बजेट पेश गर्नुभएको थियो ।

,सुसंस्कृत समातामुलक समृद्ध किसपाड., भन्ने नाराकासाथ ल्याएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सडक यातायातलाई विशेष प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले प्राविधिक शिक्षालय सञ्चालन तथा व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । यस्तै पालिका जागरण अभियानका लागि पनि बजेट विनियोजन गरिएको छ । गाउँसभाले फिकुरी क्याम्पस सञ्चालनका लागि अनुदान दिनेदेखि लोकल रक्सी उत्पादन तथा प्रर्वद्धन कार्यक्रम पनि ल्याएको छ ।
कार्यक्रममा अध्यक्षसँग जेष्ठ नागरिक घरदैलो,विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम,खोप तथा गाउँघर क्लिनक सञ्चालन जस्ता महत्वपूर्ण कार्यक्रम पनि ल्याएको छ । दिवा खाजाका लागि पाँच रुपयाँ थप,छोरीका लागि स्नातक अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम, विपन्न तथा टुहुरा बालबालिकाका लागि शैक्षिक सामाग्री र छात्रवृत्ति वितरणका कार्यक्रम पनि समावेश गरिएका छन् ।
यस्तै सूचना प्रविधितर्फ पालिका स्तरीय सूचना तथा अभिलेखालय स्थापना,सुरक्षा संवेदनशिल क्षेत्रमा सिसि क्यामेरा जडाल र सबै विद्यालयमा र स्वास्थ्य चौकीमा विद्युतीय हाजिर जडानका कार्यक्रमका लागि पनि बजेट ल्याएको छ । यस्तै बास र निगालोबाट हस्तकला सजावटका सामाग्र िबनाउने तालिम सञ्चालनदेखि डल्लो साबुन बनाउने स्वरोजगार मुलक अन्य तालिक सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ ।