
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान महासङ्घले लिखु गाउँपालिका–६ मा आयोजना गरेको रोपाइँमा जनशक्ति र यान्त्रिकीकरणबीचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । “नयाँ प्राविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ”, उहाँले भन्नुभयो, “जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन् ।

यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ ।” किसानलाई मलको अभाव हुन नदिन प्राङ्गारिक मलको उत्पादन र उपभोगमा लाग्न पूर्वमन्त्री महतले किसानलाई अनुरोध गर्नुभयो । “ किसानले रासायनिक मल खरिद गर्न धेरै लगानी र समय खर्चेका छन्”, उहाँले भन्नुभयो, “गोठमै बनाउन सकिने कम्पोष्ट मल र प्राङ्गारिक झोल मल बनाउन किसानाई सरकारको सहयोग आवश्यक छ ।” उहाँले बीउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

किसान महासघ लिखु सभापति बद्री भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा संघीय सांसद सीता मिजारनेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कांग्रेस बागतमी प्रदेशका संसदीय दलका नेता बहादुरसिंह लामा ,प्रदेशसभा सदस्य रमेश महत लिखु गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ, नेपाली कांग्रेस लिखुका सभापति बिनोद पाठक,किसान महासंघ केन्द्रिय सदस्य राज न्यौपाने किसान महासंघ नुवाकोटका अध्यक्ष अजय पाठकलगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एवं सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रमपछि डा. महतसहितका नेताहरुले धान रोपाईमा समेत सहभागिता जनाउनुभएको थियो ।