
१८ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड के गदैृछन् भन्नेचासो सुरु भएको छ । आफूरहेसम्म उथलपुथल भैरहेने भन्दै कांग्रेस एमालेलाई जवाफ दिएका दाहाल यतिखेर सत्ताबाट बाहिरिने अवस्थामा पुगेका छन् । यो दाहालका लागि महंगो पर्ने देखिएको छ । तर राजनीतिका चतुर खेलाडी दाहाल पनि आफू निकटकासँग वर्तमान परिस्थितिको कसरी फेस गर्ने भन्ने विषयमा राजनीतिक परामर्शमा जुटेका छन् ।

प्रधानमन्त्री दाहालले पहिलो चरणमा आफ्नै दल माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बोलाएका छन् । त्यसपछि सत्ता गठबन्धनमा रहेका दलहरुसँग पनि परामर्श गर्ने तयारी छ ।
स्रोतका अनुसार प्रधानमन्त्री राजीनामा दिने कि संसद्मा विश्वासको मत लिने भन्ने छलफलमै छन् । ‘राजीनामा दिने नदिने निर्णय भइसकेको छैन’ स्रोत भन्छ, ‘तर प्रधानमन्त्रीको मूड तत्काल राजीनामा नदिने जस्तो देखिएको छ ।’ त्यसो भएमा एमालेले समर्थन फिर्ता लिनसक्छ । तर प्रधानमन्त्री प्रचण्डसँग विश्वासको मत लिन ३० दिन रहन्छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको बाटो खुल्छ ।