शुकदेव दाहाल
नेपालको राजनीतिक वृत्तमा पछिल्लो समय एउटा बहस तीव्र रूपमा उठिरहेको छ—के अब केपी शर्मा ओली को विकल्प तयार हुँदैछ ? विशेषतः पछिल्ला राजनीतिक घटनाक्रम, जनआक्रोश र युवा पुस्तामा बढ्दो असन्तुष्टिले एमालेभित्रै नेतृत्व परिवर्तनको आवाज बलियो बन्दै गएको देखिन्छ।
एक समय अत्यन्त शक्तिशाली राजनीतिक हैसियत बनाएका ओली सत्तामा रहँदै गर्दा देशमा व्यापक असन्तुष्टि देखियो। विशेषगरी युवापुस्तामा विकसित भएको “जेनजी आन्दोलन” ले पुराना दल र तिनका शीर्ष नेताप्रति गहिरो निराशा प्रकट ग¥यो। आन्दोलनको मुख्य निशानामा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र ओली स्वयं परेका थिए । जनताले लामो समयदेखि एउटै अनुहार र पुरानै शैलीको राजनीति दोहोरिएको भन्दै तीव्र असन्तोष व्यक्त गरेका थिए ।
फागुन २१ को जनमतलाई धेरैले परम्परागत दलहरूप्रतिको असन्तुष्टिका रूपमा व्याख्या गरेका छन् । त्यो परिणामले जनताले अब केवल पार्टी होइन, पुरानै शैलीको नेतृत्वलाई समेत अस्वीकार गर्न थालेको संकेत दिएको देखिन्छ । विशेषगरी कांग्रेसमा नेतृत्व परिवर्तनको बहस बढ्यो, देउवाले पनि सक्रिय भूमिकाबाट क्रमशः पछि हट्ने निर्णय लिए । उनको उमेरका कारण पनि पार्टी र सत्तामा रहन सक्ने सम्भावना दिथएन । माओवादी केन्द्रमा भने पुष्पकमल दाहालको राजनीतिक प्रभाव पहिलेको जस्तो निर्णायक नरहेको स्पष्टै छ ।यद्यपि उनी अहिलेपनि संसदमा छन् ।
एमालेभित्र पनि ओली नेतृत्वलाई लिएर खुला वा गोप्य असन्तुष्टि बढेको छ । कतिपय नेता–कार्यकर्ताले पार्टी कमजोर हुनुमा बाह्य कारणभन्दा बढी नेतृत्व शैली जिम्मेवार रहेको बताउन थालेका छन् । विशेषगरी ओलीको कठोर, एकल निर्णयमुखी र दम्भपूर्ण शैलीले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास कमजोर बनाएको आरोप लाग्दै आएको छ । कतिपय कार्यकर्ताले चुनावमा मत घट्नुको एउटा कारण नेतृत्वप्रतिको असन्तुष्टि नै भएको निजी रूपमा स्वीकार गरेको चर्चा पनि सुनिन्छ ।
यद्यपि ओलीको राजनीतिक क्षमता र अडानलाई भने उनका आलोचकले समेत अस्वीकार गर्दैनन् । उनी स्पष्ट बोल्ने, जोखिम लिन सक्ने र आफ्नो लाइनमा दृढ रहने नेताका रूपमा चिनिन्छन् । तर राजनीति केवल अडानले मात्र चल्दैन, समयको मनोविज्ञान बुझ्ने क्षमता पनि आवश्यक हुन्छ । अहिलेको जनमत पुराना शीर्ष नेतृत्वबाट नयाँ पुस्ता र नयाँ राजनीतिक संस्कृतितर्फ मोडिन खोजिरहेको देखिन्छ।
यही कारण एमालेभित्र अब “ओलीपछिको एमाले” कस्तो हुने भन्ने बहस सुरु भएको छ। पार्टीलाई पुनर्गठन गर्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने वा ओलीलाई अभिभावकीय भूमिकामा राखेर संक्रमण व्यवस्थापन गर्ने विकल्पमाथि समेत राम्रै रुपमा थालेको छ । यदि ओलीले सम्मानजनक ढंगले नेतृत्व हस्तान्तरण गरेर पार्टी एकतामा भूमिका खेले भने एमाले फेरि बलियो बन्न सक्ने सम्भावना देखिन्छ ।
तर यदि नेतृत्व हस्तान्तरणको बहसलाई दबाउने, आलोचनालाई अस्वीकार गर्ने र पुरानै शैलीलाई निरन्तरता दिने अवस्था रह्यो भने एमालेभित्रै थप विभाजन र कमजोर हुने खतरा पनि देखिन्छ । आजको राजनीति केवल संगठनको बलले मात्र होइन, जनताको मनोविज्ञानले निर्धारण गरिरहेको छ । जनता परिवर्तन चाहिरहेका छन्, र त्यो परिवर्तनको संकेत सबै पुराना दलले गम्भीर रूपमा बुझ्नुपर्ने अवस्था बनेको छ
।
अन्ततः प्रश्न एउटै छ—के एमाले समयअनुसार आफूलाई रूपान्तरण गर्न तयार छ, कि पुरानै नेतृत्वको घेराभित्र सीमित रहनेछ ? आगामी राजनीतिक दिशाले त्यसको उत्तर दिनेछ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्