प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भए सशक्त प्रतिरोध गर्ने प्रेस युनियनको चेतावनी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १३, बुधबार २०:२६

काठमाडौं, जेठ १३ । प्रजातन्त्रवादी पत्रकाहरुकाे संस्था नेपाल प्रेस युनियनले प्रेस स्वतन्त्रता, लोकतन्त्र र पत्रकारहरूको पेशागत अधिकारको संरक्षणका लागि कुनै पनि हस्तक्षेपविरुद्ध सशक्त प्रतिरोध गर्ने घोषणा गरेको छ।


युनियनको ३५औँ स्थापना दिवस तथा विधानसभा काठमाडौंमा सम्पन्न भएको हो। सभाको अध्यक्षता युनियनका अध्यक्ष शिव लम्साल ले गरेका थिए। कार्यक्रममा शाखा तथा प्रदेश समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


सभाले जारी गरेको नौबुँदे घोषणापत्रमा लोकतन्त्र, बहुलवाद, मानवअधिकार, संविधानवाद तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने उल्लेख गरिएको छ। साथै अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारका नियन्त्रण, दमन वा हस्तक्षेपको प्रतिरोध गर्दै लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।


घोषणापत्रमा पत्रकारको पेशागत सुरक्षा, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, स्वास्थ्य तथा दुर्घटना बीमा सुनिश्चित गर्न दबाबमूलक अभियान सञ्चालन गरिने उल्लेख छ। पत्रकारमाथि हुने आक्रमण, धम्की, गिरफ्तारी, डिजिटल ह्यारेसमेन्ट तथा श्रम शोषणविरुद्ध सशक्त आवाज उठाइने युनियनले जनाएको छ।


त्यसैगरी, व्यावसायिक, तथ्यमा आधारित र जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्दै फेक न्युज, दुष्प्रचार तथा भ्रामक सामग्री नियन्त्रणमा जोड दिइने बताइएको छ। डिजिटल पत्रकारिता, मोबाइल पत्रकारिता, डेटा पत्रकारिता तथा कृत्रिम बुद्धिमत्ता (एआई) को जिम्मेवार प्रयोगलाई संस्थागत गर्न पत्रकारलाई आवश्यक तालिम प्रदान गरिने निर्णय पनि गरिएको छ।


सभाले निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने उद्देश्यले ल्याइएको विभेदकारी विज्ञापन नीति तथा सरकारी विज्ञापन रोक्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। युनियनले उक्त निर्णय फिर्ता लिन सरकारसँग आग्रह गर्दै सञ्चारमाध्यमको आर्थिक स्थायित्व र प्रेस स्वतन्त्रताको संरक्षणका लागि आवश्यक आन्दोलन, संवाद र कानुनी पहल अगाडि बढाउने चेतावनी दिएको छ।


यस्तै, स्थानीय तथा साना लगानीका सञ्चारमाध्यमलाई कर छुट, सहुलियत ऋण, प्रविधि सहयोग तथा लोककल्याणकारी विज्ञापनमा प्राथमिकता दिन राज्यसँग माग गरिएको छ। साथै संगठनलाई अझ समावेशी, लोकतान्त्रिक र समयानुकूल बनाउन विधान संशोधन गर्ने निर्णयसमेत सभाले गरेको छ।

विधानसभापछि युनियनका महासचिव दिलीप पौडेल द्वारा जारी घोषणापत्रमा प्रेस स्वतन्त्रता र पत्रकार अधिकारको रक्षाका लागि संगठन थप सशक्त रूपमा अघि बढ्ने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *