काठमाडौं, जेठ २०— राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएका हात्तीका दाह्रा बिक्री–वितरणको तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं, गोरखा र बैतडीका विभिन्न स्थानका २० देखि २७ वर्ष उमेर समूहका पाँच युवा रहेका छन्। उनीहरूलाई काठमाडौंको तार्केश्वर तथा टोखा क्षेत्रमा गरिएको अनुसन्धान र निगरानीका क्रममा नियन्त्रणमा लिइएको हो।
प्रहरीले प्राप्त सूचनापछि मनमैजु क्षेत्रमा खोजतलास गर्दा केही व्यक्तिहरूले हात्तीका दाह्रा टुक्र्याएर लुकाइराखेको अवस्था फेला परेको जनाएको छ। अनुसन्धानका क्रममा एउटा घर नजिकैको खाली जग्गामा गाडेर राखिएका दाह्राका टुक्रा बरामद गरिएको थियो। सोही क्रममा प्रहरीले ट्रामाडोल नामक औषधिको १५० ट्याब्लेट समेत फेला पारेको जनाएको छ।
प्रारम्भिक बयानका आधारमा थप व्यक्तिको संलग्नता खुलेपछि अर्को चरणमा थप दुई जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरूको सूचनाका आधारमा थप दाह्राका टुक्रा पनि बरामद गरिएको थियो।
अनुसन्धानबाट बरामद गरिएका दाह्रा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएका सामग्री नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
गत वर्ष जेनजी आन्दोलनका क्रममा शीतल निवास परिसरबाट हराएका ती दाह्रा करिब नौ महिनापछि फेला परेका हुन्। घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिका तथा चोरीको सम्पूर्ण विवरणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्