नुवाकोट जेठ २२ – नुवाकोटको बेलकाेटगढी -८ मा रहेको कल्याणीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क झोला, ट्र्याकसुट, छाता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद पुडासैनी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार पुडासैनीको उपस्थितिमा आयोजित कार्यक्रममा पूर्वप्राथमिक कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत १३० जना विद्यार्थीलाई विद्यालय झोला, ट्र्याकसुट, कपी, सिसाकलम तथा खाजा वितरण गरिएको थियो।
त्यसैगरी कक्षा ६ र ७ मा अध्ययनरत ४५ जना विद्यार्थीलाई छाता तथा खाजा वितरण गरिएको विद्यालयले जनाएको छ।

यस्तै कक्षा ८ देखि १० सम्मका ९५ जना विद्यार्थीलाई पनि छाता र खाजा प्रदान गरिएको थियो। कार्यक्रममा कुल २७० जना विद्यार्थी लाभान्वित भएका छन्।

निरु थापा ढुंगानाको संयोजनमा सम्पन्न उक्त कार्यक्रम फ्रेण्ड्स क्लब कुपण्डोलका विवेक तामाङ, चाणक्य मिडिया प्रालिका सञ्चालक विकास श्रेष्ठ, रमेश चौधरी तथा राजकुमार महर्जनको संयुक्त सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार पुडासैनी, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पुडासैनी, प्रधानाध्यापक बुद्धि प्रसाद पुडासैनीलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यार्थीहरूको शैक्षिक विकास, नियमित अध्ययनप्रति अभिप्रेरणा तथा विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्यले सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले यस्ता सहयोगमूलक कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गरेका छन्। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्