नयाँ राजनीतिक शक्तिप्रति दिल्लीको चासो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २७, बुधबार ०८:१८

शुकदेव दाहाल
नेपालको राजनीतिक परिदृश्यमा नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेको भारत भ्रमणले स्वाभाविक रूपमा राजनीतिक तथा कूटनीतिक वृत्तमा व्यापक चासो उत्पन्न गरेको छ । नेपालमा आम निर्वाचनपछि स्थापित नयाँ नेतृत्वलाई भारतले कसरी हेर्छ भन्ने प्रश्नका बीच भएको यो भ्रमणलाई धेरैले नेपाल–भारत सम्बन्धको भावी दिशासँग जोडेर विश्लेषण गरिरहेका छन् ।


छिमेकी मुलुक भारतले परम्परागत रूपमा नेपालका प्रमुख राजनीतिक शक्तिहरूसँग सम्बन्ध कायम राख्दै आएको छ । तर नेपालमा नयाँ राजनीतिक शक्ति उदाएपछि त्यसको सोच, नीति र दृष्टिकोण बुझ्ने प्रयास भारतले पनि गरेको देखिन्छ । यही सन्दर्भमा भएको रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलको भारत भ्रमणलाई सामान्य शिष्टाचार भ्रमणभन्दा बढी अर्थपूर्ण रूपमा हेरिएको छ ।


भ्रमणका क्रममा भारतीय सत्तारूढ दल भाजपा तथा उच्च राजनीतिक नेतृत्वबाट गरिएको स्वागत र संवादले भारत नेपालको बदलिँदो राजनीतिक यथार्थलाई नजिकबाट बुझ्न इच्छुक रहेको संकेत दिएको छ । विशेष गरी भारतका प्रभावशाली नेताहरूसँग भएको भेटघाटलाई कतिपय विश्लेषकहरूले भविष्यका सम्भावित राजनीतिक समीकरण र सहकार्यको संकेतका रूपमा समेत व्याख्या गरेका छन् ।
भ्रमणको एउटा महत्वपूर्ण पक्ष भनेको सीमा, सुरक्षा र द्विपक्षीय सम्बन्धका संवेदनशील विषयमा भएको खुला संवाद हो । नेपालको सीमा विवाद, सीमासम्बन्धी धारणा तथा विगतमा उठेका प्रश्नहरू कुनै एक राजनीतिक दलको मात्र विषय नभई राष्ट्रिय हितसँग जोडिएका मुद्दा हुन् भन्ने दृष्टिकोण प्रस्तुत गरिएको बताइन्छ । यसले राष्ट्रिय मुद्दामा दलभन्दा माथि उठेर सोच्नुपर्ने सन्देश दिएको देखिन्छ ।


रास्वपाले आफ्नो परराष्ट्र नीतिलाई विगतका राजनीतिक बोझ र पूर्वाग्रहभन्दा अलग राखेर विकास, आर्थिक सहकार्य र जनस्तरीय सम्बन्धमा केन्द्रित गर्न खोजेको संकेत पनि भ्रमणबाट देखिएको छ । नेपाल–भारत सम्बन्धलाई केवल सुरक्षा वा कूटनीतिक दृष्टिकोणबाट मात्र नभई आर्थिक रूपान्तरण र साझा समृद्धिको आधारमा हेर्नुपर्ने धारणा नयाँ पुस्ताको राजनीतिक सोचसँग मेल खाने देखिन्छ ।
विशेष गरी पूर्वाधार, ऊर्जा, प्रविधि, शिक्षा र डिजिटल सहकार्यका विषयमा उठाइएका अवधारणाहरूले सम्बन्धलाई नयाँ आयाम दिन सक्ने सम्भावना बोकेका छन् । नेपालको जलविद्युत् क्षमता, युवा जनशक्ति र भारतको विशाल बजार तथा प्रविधि क्षेत्रबीच सहकार्यको सम्भावना दुवै देशका लागि लाभदायक हुन सक्छ ।


भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री, गृहमन्त्री तथा विदेशमन्त्रीसँग भएका भेटवार्तालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । भारतले नेपाललाई आफ्नो ‘पडोसी पहिलो’ नीतिको महत्वपूर्ण साझेदारका रूपमा निरन्तर हेर्दै आएको सन्दर्भमा नयाँ नेतृत्वसँगको संवादले आपसी विश्वास बढाउने अवसर सिर्जना गरेको छ ।


नेपालभित्र पनि भ्रमणलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । कतिपयले भारतले रवि लामिछानेलाई दिएको प्राथमिकतालाई नेपालमा उदाएको नयाँ राजनीतिक शक्तिप्रतिको सम्मानका रूपमा लिएका छन् भने केहीले यसलाई भावी नेतृत्वसँग सम्बन्ध सुदृढ गर्ने रणनीतिक प्रयासका रूपमा व्याख्या गरेका छन् । यद्यपि, यस्ता विश्लेषणहरू समयक्रमसँगै थप स्पष्ट हुँदै जानेछन्।


एउटा कुरा भने स्पष्ट देखिन्छ—भारत नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास र आपसी सहकार्यको पक्षमा रहेको सन्देश दिन चाहन्छ । तर त्यसबाट नेपालले कति लाभ लिन सक्छ, राष्ट्रिय हितलाई कति प्रभावकारी रूपमा अगाडि बढाउन सक्छ र समानता तथा सम्मानका आधारमा सम्बन्धलाई कति उचाइमा पु¥याउन सक्छ भन्ने कुरा नेपाली नेतृत्वको कूटनीतिक क्षमता र दूरदर्शितामाथि निर्भर रहनेछ।


नेपाल–भारत सम्बन्धको भविष्य केवल औपचारिक भेटघाट वा कूटनीतिक वक्तव्यले निर्धारण गर्ने होइन। त्यसलाई परिणाममुखी बनाउने जिम्मेवारी दुवै देशको नेतृत्वमा रहन्छ । नयाँ राजनीतिक परिवेशमा उत्पन्न अवसरलाई राष्ट्रिय हितमा रूपान्तरण गर्न सकियो भने यो भ्रमणलाई भविष्यमा एउटा महत्वपूर्ण मोडको रूपमा सम्झिने आधार बन्न सक्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *