रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन, अब भरतपुरमा हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २, मंगलवार १७:२१

काठमाडौँ, असार २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको आयोजना स्थल परिवर्तन गरेको छ। पार्टीले महाधिवेशन अब भरतपुरस्थित चितवन उद्योग संघ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र मा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।


यसअघि महाधिवेशन चितवनको रत्ननगर नगरपालिका–स्थित टाँडीमा रहेको होटेल स्टार मा आयोजना गर्ने तयारी गरिएको थियो। पछिल्लो निर्णयसँगै महाधिवेशनको मुख्य स्थल परिवर्तन गरिएको हो।


पार्टीका केन्द्रीय सदस्य राजन गौतमका अनुसार असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा सहभागी प्रतिनिधि तथा अतिथिहरूका लागि सौराहा, रत्ननगर र भरतपुरका विभिन्न होटलमा आवास व्यवस्थापनको तयारी गरिएको छ।


महाधिवेशनको व्यवस्थापन तथा समन्वयका लागि पार्टीका स्थानीय, जिल्ला तथा नगर तहका संरचना, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको सहभागितामा आवश्यक काम अघि बढाइएको जनाइएको छ।


तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन १८ वटा उपसमिति गठन गरी विभिन्न जिम्मेवारी बाँडफाँट गरिएको केन्द्रीय सदस्य गौतमले जानकारी दिएका छन्।


महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य तीव्र रूपमा अघि बढाइएको पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *