देश, जनता र भावनासँग नजिस्किऔँ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ३, बुधबार ०९:०८


– शुकदेव दाहाल
“नजिस्कनु, देश, जनता र तिनका भावनासँग।
नजिस्कनु, आगो, पानी र जवानीसँग ।
महँगो पर्न सक्छ, महाराज

यी हरफहरू केवल साहित्यिक अभिव्यक्ति मात्र होइनन्, सत्तामा रहेका व्यक्तिहरूका लागि गम्भीर चेतावनी पनि हुन् । राज्य सञ्चालन गर्ने जिम्मेवारी पाएका नेतृत्वकर्ताले आफ्ना शब्द, व्यवहार र अभिव्यक्तिप्रति अत्यन्त संवेदनशील हुनुपर्छ । किनकि उनीहरूले बोलेका प्रत्येक शब्दले लाखौं नागरिकको मनोविज्ञान, विश्वास र लोकतान्त्रिक संस्कारलाई प्रभावित गरिरहेका हुन्छन् ।


तर पछिल्ला दिनहरूमा सत्ताको नेतृत्व गरिरहेका व्यक्तिहरूबाट आएका केही अभिव्यक्तिले नागरिकमा असन्तुष्टि र प्रश्न पैदा गरेका छन् । प्रधानमन्त्री स्वयंले संसदमा दिएको नेपालले भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति होस्, कर्मचारीप्रति व्यङ्ग्यात्मक शैलीमा “मलाई पनि राजदूत बन्न मन छ“ भन्ने प्रस्तुति होस्, वा सामाजिक सञ्जालमा हल्का रूपमा प्रस्तुत गरिएका अभिव्यक्तिहरू—यी सबैले पदको गरिमा र जिम्मेवारीबारे बहस सिर्जना गरेका छन् ।


त्यसैगरी, आइतबार राति सरकारका अन्य दुई मन्त्रीसँग बसेर “देश बनाउने टिम“ भन्ने अभिव्यक्ति दिनु वा आफू “छ दिन काम गर्ने र एक दिन जिस्कने“ स्वभावको रहेको बताउनु पनि सामान्य नागरिकका लागि सहज रूपमा ग्रहण गर्न सकिने विषय होइनन् । नेतृत्वको हास्यबोध आवश्यक हुन सक्छ, तर राष्ट्रको गम्भीर जिम्मेवारी बोकेको व्यक्तिबाट आएका अभिव्यक्तिले सधैँ मर्यादा, सन्तुलन र परिपक्वताको अपेक्षा राख्छन् ।


अर्कोतर्फ, पूर्वाधार मन्त्रीले ठेकेदारको खुट्टा भाँचिदिने शैलीको अभिव्यक्ति दिनु झन् चिन्ताको विषय हो । कानुनको शासनमा विश्वास गर्ने लोकतान्त्रिक समाजमा यस्ता भनाइले दण्डहीनताको संस्कृतिलाई प्रोत्साहन गर्ने खतरा रहन्छ । समस्या समाधानको माध्यम कानुन हुनुपर्छ, आक्रोशपूर्ण अभिव्यक्ति होइन ।


नेपाल विविधताले भरिएको देश हो । चार जात छत्तीस वर्ण, अनेकौँ जातजाति, भाषाभाषी, धर्म, संस्कृति र परम्पराले सिँगारिएको यो राष्ट्र साझा फूलबारी हो । यही विविधतालाई सम्मान गर्दै नेपाली जनताले गणतन्त्रलाई स्वीकार गरेका हुन् । लोकतन्त्र भनेको फरक विचारबीच सहअस्तित्वको अभ्यास हो, शक्ति प्रदर्शनको माध्यम होइन ।


विगतमा दल र नेताहरूका गतिविधिका कारण व्यवस्थामाथि नै निराशा उत्पन्न भएको थियो । जनताले विकल्प खोजे, परिवर्तनको पक्षमा उभिए र नयाँ जनादेश दिए। तर लोकतान्त्रिक व्यवस्थामा जनमत स्थायी हुँदैन । जनताको विश्वास जित्न कठिन हुन्छ र गुमाउन धेरै समय लाग्दैन । इतिहास साक्षी छ—जनताको चाहना र भावनाविपरीत जाने शासकहरू अन्ततः सत्ताबाट बाहिरिन बाध्य भएका छन् । राणाशासनदेखि राजतन्त्रसम्मको अन्त्यले यही सन्देश दिन्छ ।


वर्तमान सरकारलाई जनताले निश्चित अवधिका लागि शासन गर्ने म्यान्डेट दिएका छन् । त्यो जनादेश पाँच वर्षसम्म देशलाई स्थायित्व, सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढाउनका लागि हो । त्यसलाई हल्का टिप्पणी, अनावश्यक विवाद वा गैरजिम्मेवार अभिव्यक्तिबाट कमजोर बनाउने छुट कसैलाई छैन । विकल्प खोज्ने परिस्थिति स्वयं सरकार र उसका सञ्चालकबाट सिर्जना हुनु हुँदैन।
आज देशका नागरिक रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र विकासका अपेक्षासहित सरकारतर्फ हेरिरहेका छन् । उनीहरूलाई राजनीतिक अस्थिरता, आरोप–प्रत्यारोप र असंवेदनशील अभिव्यक्तिभन्दा परिणाम चाहिएको छ । जनताले नेतालाई मनोरञ्जन गर्न होइन, नेतृत्व गर्न चुनेका हुन् ।


त्यसैले सत्तामा रहेका सबैले बुझ्न आवश्यक छ—देशसँग जिस्किन मिल्दैन, जनताको भावनासँग खेल्न मिल्दैन । नेतृत्वको वास्तविक परीक्षा भाषणमा होइन, व्यवहारमा हुन्छ । शब्दले विश्वास निर्माण पनि गर्छ, भत्काउँछ पनि । त्यसैले बोल्दा संयम, निर्णय गर्दा विवेक र शासन गर्दा जनउत्तरदायित्व आवश्यक छ ।


देश र जनता फेरि अस्थिरता चाहँदैनन् । उनीहरू शान्ति, विकास र भरोसाको भविष्य खोजिरहेका छन् । जनताको धैर्यलाई कमजोरी ठान्नु हुँदैन । लोकतन्त्रमा अन्तिम शक्ति जनतासँग नै निहित हुन्छ । त्यसैले सत्तामा रहेकाहरूले समयमै हेक्का राखुन् —देश र जनतासँग जिस्कने छुट कसैलाई छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *