काठमाडौं, असार ५ — राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलले विद्यार्थीहरू सबैभन्दा बढी अनिवार्य अंग्रेजी र लेखा (अकाउन्टेन्सी) विषयमा अनुत्तीर्ण भएको देखाएको छ। कुल उत्तीर्ण प्रतिशत सन्तोषजनक रहे पनि यी दुई विषय विद्यार्थीका लागि मुख्य चुनौती बनेका छन्।
बोर्डका उपपरीक्षा नियन्त्रक कृष्णप्रसाद घिमिरेका अनुसार अनिवार्य अंग्रेजी विषयमा सबैभन्दा धेरै विद्यार्थीले आवश्यक न्यूनतम ग्रेड प्राप्त गर्न सकेनन्। अंग्रेजीमा मात्रै करिब १४ प्रतिशत विद्यार्थी ‘नन–ग्रेडेड (एनजी)’ भएका छन्। अंग्रेजीपछि लेखा विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या उच्च रहेको बोर्डले जनाएको छ।
यस वर्षको नतिजाअनुसार नियमिततर्फ परीक्षा दिएका ३ लाख ३२ हजार २ सय ४१ विद्यार्थीमध्ये १ लाख ४ सय ७१ जना ‘एनजी’ भएका छन्। यिनैमध्ये अधिकांश विद्यार्थी अंग्रेजी र लेखा विषयमा कमजोर नतिजाका कारण उत्तीर्ण हुन सकेनन्।
बोर्डका अनुसार ग्रेडवृद्धि (मौका) परीक्षामा सहभागी हुने विद्यार्थीमध्ये पनि अंग्रेजी र लेखा विषयका परीक्षार्थीको संख्या सबैभन्दा धेरै रहनेछ। एक वा दुई विषयमा मात्र ‘एनजी’ प्राप्त गरेका विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था छ।
यसपटक परीक्षा सम्पन्न भएको ३९ दिनमै नतिजा सार्वजनिक गरिएको थियो। नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १ सय ७० परीक्षार्थी सहभागी भएकामा २ लाख ६८ हजार १ सय ९० जना उत्तीर्ण भएका छन्, जुन ६४.३१ प्रतिशत हो।
शिक्षाविद्हरूले अंग्रेजी र लेखा विषयमा लगातार कमजोर नतिजा आउनुलाई शिक्षण सिकाइ, विषयगत आधारभूत ज्ञान र परीक्षा तयारीसँग जोडिएको समस्या भएको बताउँदै सुधारका लागि विशेष कार्यक्रम आवश्यक रहेको बताएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्