रास्वपाकाे अन्तिम केन्द्रीय समिति बैठकमा रवि लामिछाने भावुक

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ६, शनिबार १८:००

भरतपुर, असार ६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको छ। महाधिवेशनको औपचारिक उद्घाटनअघि पार्टीको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरस्थित दियालो फुडल्यान्डमा बसेको छ।


महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले वर्तमान केन्द्रीय समितिका सदस्यप्रति धन्यवाद व्यक्त गर्दै पार्टीको आन्तरिक लोकतन्त्र र निष्ठाप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याए। उनले उपस्थित सदस्यहरूलाई देशप्रेम, आकांक्षा र परिवर्तनको चाहना बोकेका अनुहारका रूपमा चित्रित गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे।


लामिछानेले रास्वपाको मुख्य शक्ति आन्तरिक लोकतन्त्र रहेको उल्लेख गर्दै संस्थापक सभापतिका रूपमा आफूले त्यसलाई मजबुत बनाउन प्रयास गरेको बताए। उनले निष्ठा र आन्तरिक लोकतन्त्र आफ्नो राजनीतिक जीवनका आधारभूत मूल्य रहेको स्पष्ट पारे।
सम्बोधनका क्रममा उनले लोकतन्त्र, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान र संघर्षको सम्मान गर्नुपर्ने धारणा राखे। “हामी हिजोका त्याग र बलिदानको जगमा उभिएका छौं, त्यसप्रति हामी गर्व गर्छौं,” उनले भने।


महाधिवेशनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप संस्थागत र सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यताबाट कहिल्यै विचलित नहुने प्रतिबद्धता जनाए।


आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देशभरबाट तीन हजारभन्दा बढी प्रतिनिधि, नेता, कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी राजनीतिक दिशा तय हुने अपेक्षा गरिएको छ ।

लामिछानेको भनाइ जस्ताको त्यस्तै 

केन्द्रीय समितिको बैठकमा यो सुन्दर आकांक्षा बोकेका, रहर बोकेका, हुटहुटी बोकेका, देश प्रेमले ओतप्रोत यी अनुहारहरू मेरो अगाडि छन् । म तपाईहरू सबैलाई फेरि पनि निर्वाचित भइसकेपछि पनि देख्न, हेर्न, कुराकानी गर्न चाहन्छु । म सबैभन्दा पहिला यहाँहरू सबैलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु । 

अर्को महत्त्वपूर्ण कुरा पार्टीको आन्तरिक लोकतन्त्र हाम्रा लागि असाध्यै धेरै महत्त्वपूर्ण कुरा हो । आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनका निमित्त सभापतिका रुपमा, संस्थापक सभापतिका रुपमा कति भूमिका निर्वाह गर्न सकियो सकिएन, त्यो यहाँहरूले मूल्यांकन गर्नुभएको विषय होला । तर मेरो लागि निष्ठा र आन्तरिक लोकतन्त्र यो कुनै सम्झौता गर्ने विषय होइन । मैले त्यसमा कहिल्यै पनि सम्झौता नगर्ने वचनबद्धता प्रकट गरेको छु र म त्यसमा खरो उत्रिने प्रयास आफ्नो राजनीतिक जीवनभरि गरिरहनेछु । 

rabi-chtwan

म बिदा हुनुअघि केन्द्रीय समितिलाई बैठक सुरु हुनु अगाडि र भोलि आउने केन्द्रीय समितिलाई यो संघारमा उभिएर म यहाँहरूलाई यति भन्न चाहन्छु, संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइपुर्याउँदा भएका त्याग, बलिदान, संघर्षहरूको सम्मानको जगमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ । हामी गर्वका साथ यो परिवर्तनको संघारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको काँधमा उभिएको हुनाले पश्चाताप होइन हामीलाई झनै हामी यति फराकिलो दृश्य देख्न पाइरहेका छौँ ।

त्यसैले म तपाईहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू र लोकतन्त्र प्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुनेछैनौँ, म कहिल्यै विमुख हुनेछैन । म यो कुरा यहाँहरूलाई आजको यो बैठकको सुरुवातमा नै बताउन चाहन्छु ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *