चितवन, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले गर्ने कार्यक्रम तय गरिएको छ।
महाधिवेशनका लागि आवश्यक अधिकांश तयारी पूरा भएको रास्वपाले जनाएको छ। पार्टीका प्रवक्ता मनिष झाले देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिएका छन्। महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनका काम समेत अन्तिम चरणमा पुगेका छन्।
पार्टीले महाधिवेशनलाई प्रभावकारी बनाउन १८ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको थियो। राजनीतिक, आर्थिक तथा सांगठनिक प्रतिवेदन तयार भइसकेका छन् भने महाधिवेशनमा प्रस्तुत गरिने संशोधित विधानलाई केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ।
महाधिवेशनअघि बसेको केन्द्रीय समिति बैठकले पार्टीको संगठनात्मक संरचनामा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाउने प्रस्ताव पारित गरिएको छ। साथै, पदाधिकारी तहमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने व्यवस्था पनि विधानमा समेटिएको छ।
संशोधित व्यवस्थाअनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा दुई सहकोषाध्यक्ष रहनेछन्। उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमध्ये कम्तीमा एक जना महिला अनिवार्य रहने प्रावधान राखिएको छ।
नयाँ विधानअनुसार १५१ केन्द्रीय सदस्यमध्ये ९९ जना खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् भने ५१ जना सदस्य पार्टी सभापतिले समावेशी आधारमा मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ। प्रदेश सभापतिहरूलाई पदेन केन्द्रीय सदस्य बनाउने प्रस्ताव पनि समावेश गरिएको छ।
रास्वपाले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा निर्धारण, नेतृत्व चयन तथा जनसम्बन्ध विस्तारलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। पार्टीले टोलस्तरसम्म संगठन विस्तार गर्ने लक्ष्य विधानमै समेटेको छ भने भ्रातृ संगठन नबनाउने नीति यथावत् राख्ने संकेत दिएको छ।
महाधिवेशनमा कुल ३ हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ। त्यसमध्ये ३०० प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी पार्टीका दुई महामन्त्रीलाई दिइएको छ। पार्टीका अनुसार हाल सदस्य संख्या पाँच लाख नाघिसकेको छ। देशभरका ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने ४ हजार ६३ वडामा संगठनात्मक अधिवेशन सम्पन्न गरिएको छ।
यसैगरी सात प्रदेशका ६४ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेको छ। अधिवेशन हुन बाँकी रहेका जिल्लाहरू तथा मधेस प्रदेशका तदर्थ समितिबाट समेत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुने रास्वपाले जनाएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्