रास्वपाको महाधिवेशनमा उम्मेदवारी शुल्क तोकियो, सभापतिका लागि ५१ हजार रुपैयाँ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ७, आईतवार ०८:००

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी शुल्क, प्रस्तावक–समर्थक तथा आवश्यक कागजातसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ।


निर्वाचन आयोगले असार ६ गते जारी गरेको सूचनाअनुसार पार्टी सभापति पदका लागि उम्मेदवारी दिन ५१हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। त्यसैगरी पार्टी पदाधिकारीका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ।


सूचनाअनुसार सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले कम्तीमा १ जना प्रस्तावक र १५ जना समर्थकको हस्ताक्षर संकलन गर्नुपर्नेछ। प्रस्तावक र समर्थक बन्ने पार्टी सदस्यहरूको नाम प्रतिनिधि नामावलीमा समावेश भएको हुनुपर्ने व्यवस्था गरिएको छ।


उम्मेदवारी दर्ताका लागि भरिएको मनोनयन पत्र, शुल्क बुझाएको बैंक भौचर वा रसिद, अनुशासन कारबाही नभएको स्व–घोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा पेश गर्नुपर्ने आयोगले जनाएको छ।


रास्वपाले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र प्रतिनिधिमूलक बनाउन उम्मेदवारी दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न इच्छुक प्रतिनिधिहरूलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *