काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले रास्वपाको राजनीतिक यात्रा गन्तव्यमा नपुग्दासम्म नरोकिने बताएका छन्।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई ‘एक्सप्रेस गाडी’को संज्ञा दिँदै लक्ष्य हासिल नभएसम्म अघि बढिरहने बताए।
‘हाम्रो लोकल गाडीजस्तो होइन, एक्सप्रेसमा हिँडेको गाडी हो। हामी गन्तव्यमा पुगेपछि मात्र ब्रेक लगाउँछौं,’ शाहले भने।
जनताको समर्थनलाई हावासँग तुलना गर्दै उनले जनमत परिवर्तनशील भए पनि रास्वपाले जनविश्वासलाई स्थायी उपलब्धिमा रूपान्तरण गर्न सफल भएको दाबी गरे। ‘जनताको भोट हावाजस्तै हो, कहिले यता त कहिले उता बहन्छ। तर हामीले बाढी ल्याएर खोला फर्काएका छौं,’ उनले भने।
रास्वपा छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेको उल्लेख गर्दै शाहले त्यो स्थान जनताकै बलमा प्राप्त भएको बताए। ‘हामीलाई जनताले यहाँ ल्याएका हुन्। जनता सधैं स्पटलाइटमा रहन्छन्, जनता नै अगाडि रहन्छन्,’ उनले स्पष्ट पारे।
उनले रास्वपालाई परम्परागत वाम वा दक्षिणपन्थी विचारधाराभन्दा माथि उठेको विकासमुखी राजनीतिक शक्ति भएको दाबी गरे। ‘हामी लेफ्ट–राइट, उत्तर–दक्षिण होइनौं। हाम्रो पार्टी विकासवादी, काम गर्ने र देशलाई अगाडि बढाउने पार्टी हो,’ उनले भने।
भ्रष्टाचार र सरकारी स्रोत–साधनको दुरुपयोगप्रति पार्टी शून्य सहनशीलताको पक्षमा रहेको बताउँदै शाहले आवश्यक परे वर्षौंसम्म पनि जवाफदेहिता खोजिने चेतावनी दिए। ‘सरकारी दोहन भएको छ भने प्रश्न उठाउँछौं। चाहियो भने पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि सोधपुछ हुन सक्छ,’ उनले बताए।
राष्ट्रियताको विषयमा उठ्ने आशंकाको जवाफ दिँदै शाहले लिपुलेकलगायत सीमा सम्बन्धी मुद्दामा रास्वपाको अडान स्पष्ट रहेको बताए। ‘हामी लिपुलेकको प्रमाण ल्याउने कुरा गर्छौं, मध्यस्थता खोज्ने होइनौं। राष्ट्रियताप्रति कसैले शंका गर्नुपर्ने अवस्था छैन,’ उनले भने।
पार्टीभित्र गुट–उपगुटको राजनीति नगर्न नेता–कार्यकर्तालाई आग्रह गर्दै उनले जनताको विश्वास नै सफल नेतृत्वको आधार भएको बताए। ‘राम्रो नेता बन्न गुट होइन, जनता चाहिन्छ,’ उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले वर्तमान कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा यी विषयलाई फेरि चुनावी एजेन्डा बनाउन नपर्ने गरी काम गर्ने दाबी गरे।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्