काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई सुदृढ, संगठित र एकताबद्ध बनाउन नसकेको टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै ढुंगानाले गगन थापाले रास्वपालाई दिएको शुभकामना सन्देश आफूले पनि समर्थनका साथ ‘फरवार्ड’ गर्न चाहेको बताएका हुन्।
ढुंगानाले रास्वपाको महाधिवेशनलाई लोकतान्त्रिक पर्वको संज्ञा दिँदै महाधिवेशनपछि पार्टी अझ सशक्त, संगठित र प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरेका छन्। साथै उनले सभापति रवि लामिछाने र रास्वपा परिवारलाई शुभकामना दिएका छन्।
तर सोही सन्दर्भमा उनले कांग्रेस नेतृत्वप्रति असन्तुष्टि जनाउँदै गगन थापालाई पार्टी सुधार्ने जिम्मेवारी अझ बढी रहेको बताएका छन्। “बच्चादेखि नै गगन थापाको प्रस्तुति हेर्दै आएको थिएँ। कांग्रेसप्रति विशेष झुकाव नभए पनि बहुदलीय व्यवस्थामा आवश्यक नेता ठानेर समर्थन गरेको थिएँ,” ढुंगानाले लेखेका छन्।
उनले अहिलेको अवस्थामा भने गगन थापाले कांग्रेसलाई अपेक्षाअनुसार रूपान्तरण गर्न नसकेको निष्कर्ष सार्वजनिक गरेका छन्। “आज बहुदलीय व्यवस्थामा मलाई एउटा राष्ट्रिय स्वतन्त्र पार्टी मात्र देखिन्छ। गगन थापाले पार्टीलाई मिलाउन सक्नुभएन, यो लोकतन्त्रमा विश्वास गर्ने व्यक्तिका लागि दुःखको विषय हो,” उनले उल्लेख गरेका छन्।
ढुंगानाले पुराना राजनीतिक दलहरू नै पुनः विकल्प बन्न नसक्ने तर्क गर्दै एमाले–कांग्रेसको विकल्प फेरि तिनै दलहरू हुन नसक्ने बताएका छन्। उनले देशको राजनीतिमा देखिएको शून्यता नयाँ र राष्ट्रहित केन्द्रित शक्तिले भर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
“पुरानो एमाले–कांग्रेसको विकल्प पुरानै एमाले–कांग्रेस हुन सक्दैन। पुराना दलसँग त्यो नैतिक आकर्षण छैन,” भन्दै ढुंगानाले आफूले गगन थापाप्रति गरेको समर्थनबारे समेत आत्मालोचना गर्नुपरेको उल्लेख गरेका छन्।
रास्वपाको महाधिवेशन चलिरहेका बेला आएको ढुंगानाको यो अभिव्यक्तिलाई कांग्रेसको आन्तरिक अवस्थाप्रति असन्तुष्टि र वैकल्पिक राजनीतिक शक्तिप्रतिको बढ्दो आकर्षणको संकेतका रूपमा हेरिएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्