रास्वपा महाधिवेशनबाट अमरेश किन टाढिए ? मधेशमा तरङ्ग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ८, सोमबार १५:३२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन जारी रहँदा पार्टीका सांसद डा. अमरेशकुमार सिंहको अनुपस्थितिले राजनीतिक वृत्तमा व्यापक चासो र चर्चा जन्माएको छ। केही महिनाअघि मात्रै रास्वपामा प्रवेश गरेका सिंह महाधिवेशनमा सहभागी नभएपछि मधेशदेखि केन्द्रसम्म विभिन्न अड्कलबाजी सुरु भएका छन्।


महाधिवेशनस्थल चितवनमा उपस्थित प्रतिनिधिहरूले समेत सिंहको अनुपस्थितिबारे सोधीखोजी गरिरहेका छन्। विशेषगरी मधेश प्रदेशबाट आएका प्रतिनिधिहरूले उनको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरेका छन्। पार्टीभित्र र बाहिर दुवैतर्फ उनको निर्णयलाई लिएर अनेक व्याख्या भइरहेका छन्।


अमरेशनिकट स्रोतका अनुसार उनी सम्भावित राजनीतिक घटनाक्रम र आगामी रणनीतिलाई ध्यानमा राखेर महाधिवेशनमा सहभागी नभएको हुनसक्ने आकलन गरिएको छ।
“आगामी दिनको राजनीतिक सम्भाव्यता गहिरोसँग अध्ययन गरेर उहाँले दूरी कायम गर्नुभएको हुनसक्छ। यो रणनीतिक निर्णय पनि हुन सक्छ,” स्रोतले बतायो।यद्यपि, यस विषयमा प्रतिक्रिया लिन खोज्दा सिंहसँग सम्पर्क हुन सकेन।


लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेका सिंह गत माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममार्फत रास्वपामा प्रवेश गरेका थिए। उनको प्रवेशलाई मधेशमा रास्वपाको प्रभाव विस्तार गर्ने महत्वपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको थियो। पार्टी प्रवेशको भोलिपल्ट उनले प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई जानकी मन्दिर दर्शनसमेत गराएका थिए।


रास्वपाबाट निर्वाचित भएयता सिंहले संसद् र सार्वजनिक मञ्चहरूमा सरकारको कार्यशैलीप्रति पटक–पटक असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनले मधेशको प्रतिनिधित्व, राज्यका नियुक्ति प्रक्रिया तथा विकास बजेट वितरणका विषयमा सरकारमाथि खुलेर प्रश्न उठाएका थिए।


जेठ ५ गते प्रतिनिधिसभामा बोल्दै उनले मधेशमा जनआक्रोश विस्फोटको अवस्थामा पुगेको चेतावनी दिएका थिए। त्यसपछि जेठ २८ गते बजेटमाथिको छलफलमा उनले सरकारको बजेटलाई “फुकेको बेलुन”को संज्ञा दिँदै यसको कार्यान्वयन क्षमतामाथि नै प्रश्न उठाएका थिए।


त्यसैगरी संविधान संशोधनका लागि गठन गरिएको कार्यदलमाथि पनि उनले असहमति जनाएका थिए। असार २९ गते आयोजित एक कार्यक्रममा उनले “संविधान संशोधनभन्दा पहिले लोकतन्त्र र वर्तमान व्यवस्था जोगाउने विषयमा बहस हुनुपर्ने” धारणा सार्वजनिक गरेका थिए।


यिनै अभिव्यक्ति र पछिल्ला गतिविधिका कारण सिंह र रास्वपा नेतृत्वबीच राजनीतिक दूरी बढ्दै गएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। महाधिवेशनजस्तो पार्टीको सबैभन्दा महत्वपूर्ण राजनीतिक कार्यक्रममा उनको अनुपस्थितिलाई सामान्य घटनाका रूपमा लिन नसकिने विश्लेषण भइरहेको छ।


राजनीतिक वृत्तमा अहिले अर्को प्रश्न पनि उठेको छ—के अमरेशकुमार सिंह रास्वपाभित्र असहज महसुस गरिरहेका छन्, वा उनी नयाँ राजनीतिक रणनीति निर्माणमा जुटेका छन्?
यसबारे आधिकारिक धारणा नआएसम्म कुनै निष्कर्ष निकाल्न सकिने अवस्था नभए पनि उनको अनुपस्थितिले मधेशमा नयाँ राजनीतिक तरङ्ग सिर्जना गरेको देखिन्छ। मधेशमा प्रभावशाली नेताका रूपमा स्थापित सिंहले भविष्यमा फरक राजनीतिक बाटो रोजेमा त्यसको प्रत्यक्ष असर रास्वपामाथि पर्न सक्ने विश्लेषण भइरहेको छ।


विशेषगरी आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपाले मधेशमा आफ्नो संगठन विस्तार गर्ने योजना बनाइरहेका बेला सिंहको भूमिकाबारे उठेका प्रश्नले पार्टीलाई थप चुनौतीपूर्ण अवस्थामा पुर्‍याउन सक्छ। यदि उनी पार्टीबाट टाढिने वा नयाँ राजनीतिक मोर्चाबन्दीतर्फ उन्मुख हुने संकेत पुष्टि भएमा मधेशमा रास्वपाले अपेक्षाकृत ठूलो राजनीतिक क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।


हालका लागि भने डा. अमरेशकुमार सिंहको महाधिवेशन बहिष्कारजस्तै देखिएको अनुपस्थितिले रास्वपाभित्र र बाहिर दुवैतर्फ अनेक प्रश्न जन्माएको छ, जसको उत्तर आगामी दिनका उनका राजनीतिक कदमहरूले दिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *