पारामाउण्ट एकेडेमीमा ‘विद्यार्थीसँग साहित्यकार’ विशेषाङ्क लोकार्पण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ९, मंगलवार ०८:३८


काठमाडौं, असार ९ — संसाक मासिकको ‘विद्यार्थीसँग साहित्यकार : विमर्श र साक्षात्कार’ विषयक पारामाउण्ट एकेडेमी विशेषाङ्क सोमबार काठमाडौंको टोखा–८, गोँगबुस्थित पारामाउण्ट एकेडेमीमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको छ।


प्याब्सन काठमाडौंका पूर्वअध्यक्ष, साहित्यकार तथा इडन ब्रिज एकेडेमीका संस्थापक प्रिन्सिपल प्रेम राई परीक्षितको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पारामाउण्ट एकेडेमीका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डे र साहित्यकार देवराज सिम्खडाको विशेष उपस्थिति रहेको थियो।


कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न कक्षाका विद्यार्थीहरूले विशेषाङ्क लोकार्पण गर्नुका साथै साहित्यिक गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेम राईले डिजिटल प्रविधिको बढ्दो प्रभावका बीच विद्यार्थीहरूको मौलिक सिर्जनशीलता जोगाउन साहित्यकारसँग प्रत्यक्ष संवाद गराउने संसाकको अभियान प्रशंसनीय रहेको बताए। यस्ता कार्यक्रमले बालप्रतिभाको सिर्जनात्मक क्षमता विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।


विद्यालयका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले विद्यालयले साहित्य, कला र सर्जकप्रति सम्मानको परम्परा कायम राख्दै आएको उल्लेख गर्दै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।


कार्यक्रमको सञ्चालन तथा सहजीकरण संसाकका सम्पादक उमेश पाण्डे तथा शिक्षिका रेविका महर्जन र सविना फुयाँलले गरेका थिए। कार्यक्रममा साहित्य, शिक्षा र विद्यार्थी सिर्जनशीलताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत चर्चा गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *