रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि ४ सय उम्मेदवार

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १०, बुधबार ०८:४९


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत आज बिहानदेखि सुरु हुने भनिएको केन्द्रीय समिति निर्वाचनको मतदान प्रक्रिया निर्धारित समयभन्दा ढिलो हुने भएको छ।


निर्वाचन आयोगबाट उम्मेदवारहरूको अन्तिम सूची (सर्ट लिस्ट) समयमै उपलब्ध नभएकाले मतदानका लागि आवश्यक प्राविधिक तयारी पूरा हुन नसकेको जनाइएको छ। खुला तथा विभिन्न समावेशी समूहका उम्मेदवारलाई भोटिङ प्रणालीमा समायोजन गर्नुपर्ने भएकाले सूची प्राप्त भएपछि मात्रै अन्तिम सेटिङ मिलाइने प्राविधिक टोलीले जनाएको छ।


मतदान व्यवस्थापनमा संलग्न प्राविधिक नवराज पाण्डेका अनुसार मतदान प्रणालीका अधिकांश प्राविधिक पक्ष तयार भइसकेका छन्। तर आयोगबाट उम्मेदवारहरूको आधिकारिक सूची प्राप्त नभएसम्म मतदान प्रक्रिया अघि बढाउन कठिन हुने अवस्था रहेको उनले बताए।


रास्वपाको ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि ४ सयभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधिले मतदान गर्ने अपेक्षा गरिएको छ। एक प्रतिनिधिले सबै पदमा मतदान गर्न औसत २० मिनेटसम्म समय लाग्न सक्ने भएकाले मतदान प्रक्रिया लामो समयसम्म चल्न सक्ने अनुमान गरिएको छ।


निर्वाचनका लागि ‘राम–लक्ष्मण’ भोटिङ मेसिन प्रयोग गरिएको छ भने मतदान स्थलमा ८० वटा मेसिन तयारी अवस्थामा राखिएका छन्। प्रवासमा रहेका प्रतिनिधिका लागि भने मोबाइल एपमार्फत मतदानको व्यवस्था गरिएको छ।


यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। केन्द्रीय सदस्यहरूको मतदान सम्पन्न भएपछि अन्य पदाधिकारी पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइने जनाइएको छ।


रास्वपाको विधानअनुसार पार्टीमा १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *