स्थानीय तह पुनर्संरचनाको बहसः नुवाकोटमा १२ पालिका घटेर कति रहने ?

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १०, बुधबार ०९:१७

सरकारले पालिका र वडाको संख्या तथा सीमाना पुनरावलोकनका लागि सुझाव मागेपछि नुवाकोटमा नगरपालिका विस्तार, गाउँपालिका गाभ्ने र वडा संख्या घटाउने विषयमा बहस सुरु

नुवाकोट पुकार समाचारदाता
विदुर । सरकारले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमाना पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएसँगै नुवाकोटमा स्थानीय तह पुनर्संरचनाको बहस सुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको स्थानीय तह समन्वय शाखाले ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८३’ कार्यान्वयनका लागि स्थानीय तहसँग सुझाव मागेपछि सम्भावित पुनर्संरचनाबारे चर्चा चुलिएको हो ।


हाल नुवाकोटमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह तथा ८८ वडा रहेका छन् । तर भौगोलिक अवस्था, सेवा प्रवाह, पूर्वाधार विकास र प्रशासनिक व्यवस्थापनका दृष्टिले कतिपय स्थानीय तहको वर्तमान संरचना प्रभावकारी नभएको भन्दै पुनर्संरचनाको आवश्यकता औंल्याउन थालिएको छ ।


विशेषगरी भौतिक पूर्वाधार, आर्थिक गतिविधि र विकासको गति अपेक्षाकृत कमजोर रहेको बेलकोटगढी नगरपालिकाको संरचना पुनरावलोकन हुनुपर्ने तर्क एकातिर उठिरहेको छ । अर्कोतर्फ लिखु, शिवपुरी, विदुर र ककनीका केही वडालाई समेटेर नयाँ नगरपालिका गठन गर्न सकिने सुझावसमेत स्थानीय तह र सरोकारवालाबीच अनौपचारिक रूपमा चर्चामा आउन थालेको छ ।


पुनर्संरचनापछि नुवाकोटमा रहेका १२ स्थानीय तहको संख्या घट्न सक्ने तथा ८८ वडालाई घटाएर करिब ७० वडामा सीमित गर्न सकिने अनुमानसमेत गरिएको छ । यद्यपि सरकारले मागेको सुझावबारे नुवाकोटका स्थानीय तहहरूले आधिकारिक रूपमा के धारणा बनाएका छन् भन्ने विषय सार्वजनिक भइसकेको छैन ।


संघीय सरकारले स्थानीय तहको संख्या घटाएर प्रशासनिक खर्च कम गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र शहरीकरणको आधारमा थप स्थानीय तहलाई नगरपालिका संरचनामा रूपान्तरण गर्ने तयारी गरेको बुझिएको छ । यसअघि निर्वाचन आयोगले समेत स्थानीय तहको संख्या पुनरावलोकन गर्न, वडा संख्या घटाउन तथा स्थानीय निर्वाचनलाई थप व्यवस्थित बनाउन सुझाव दिएको थियो।


सरकारको नयाँ मापदण्डअनुसार हुने पुनर्संरचनाले नुवाकोटसहित देशभरका स्थानीय तहको नक्सा, प्रशासनिक स्वरूप र राजनीतिक प्रतिनिधित्वमा समेत महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ । अब स्थानीय तहबाट आउने सुझाव र सरकारको अन्तिम निर्णयले नुवाकोटको स्थानीय शासन संरचना कस्तो हुने भन्ने टुंगो लगाउनेछ भने त्यसकै आधारमा निर्वाचनमा कसको पल्लाभारी होला भन्ने अनुमान पनि गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *