रास्वपामाथि शंकर पोखरेलको आरोप : ‘सुशासनको नारा दिनेहरू नै सल्लाहकार र पीएको फौज खडा गर्न व्यस्त’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १०, बुधबार ११:०६


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वप्रति कटाक्ष गर्दै निर्वाचनका बेला मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग रोक्ने प्रतिबद्धता जनाएका दलहरू सत्तामा पुगेपछि आफ्ना कार्यकर्ता भर्ती गर्न र समानान्तर शक्तिकेन्द्र खडा गर्न व्यस्त भएको आरोप लगाएका छन्।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले ‘मितव्ययिता र सुशासन’को चर्को नारा लगाएर जनताको मत प्राप्त गरेका नयाँ भनिने राजनीतिक शक्तिहरू सत्तामा पुगेपछि सल्लाहकार र व्यक्तिगत सहायक (पीए)हरूको भद्दा फौज खडा गर्न थालेको टिप्पणी गरेका हुन्।


उनले राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने वाचा गर्नेहरू नै अहिले मन्त्रालयहरूमा समानान्तर शक्तिकेन्द्र निर्माण गर्न सक्रिय रहेको आरोप लगाए। रास्वपालाई परिवर्तन र सुशासनको आशामा मतदान गरेका नागरिकहरूले अहिलेको व्यवहारबाट कस्तो महसुस गरिरहेका होलान् भन्ने प्रश्नसमेत उनले उठाएका छन्।


पोखरेलले आम जनताको भरोसामाथि मजाक नगर्न सरकारलाई आग्रह गर्दै चुनावका बेला गरिएको प्रतिबद्धता स्मरण गर्न र स्वेच्छाचारी व्यवहार त्याग्न चेतावनी दिएका छ्न् “चुनावका समयको आफ्नो वाचातर्फ फर्क सरकार, स्वेच्छाचारी व्यवहारबाट जनतालाई निराश नबना,” पोखरेलको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *