क्रियाशील सदस्यता व्यवस्थापनमा काँग्रेसद्वारा समयसीमा निर्धारण , असार २० भित्र सबै प्रक्रिया टुङ्ग्याइने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १०, बुधबार १२:२८

काठमाडौँ – नेपाली काँग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन र अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाले जारी गरेको तालिकाअनुसार सदस्यता सम्बन्धी विभिन्न काम आगामी असार २० गतेभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ।


काँग्रेसले यसअघि निर्धारित समयभित्र अद्यावधिक गर्न नपाएका क्रियाशील सदस्यहरूलाई पुनः अवसर प्रदान गरेको छ। जेठ २८ गतेपछि छुटेका सदस्यहरूले आफैं सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ।


यस्तै, नवीकरण हुन बाँकी रहेका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनका क्रममा स्थगनमा परेका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि असार २० गतेभित्र पूरा गरिनेछ।


पार्टीका अनुसार विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक र नयाँ सदस्यता वितरणसँगै काँग्रेसमा समाहित भएका तथा हालै पार्टी प्रवेश गरेका व्यक्तिहरूको सदस्यता व्यवस्थापनको कामसमेत यही अवधिमा सम्पन्न गरिनेछ।


अद्यावधिक भएका सदस्यहरूको विवरण परीक्षण तथा रुजु गर्ने प्रक्रिया भने असार महिनाभर जारी रहने काँग्रेसले जनाएको छ। पार्टीले सदस्यता अभिलेखलाई व्यवस्थित र अद्यावधिक बनाउँदै आगामी संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यो कार्यतालिका लागू गरेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *