तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न, शिक्षा–पूर्वाधार र सामाजिक सुरक्षामा विशेष जोड

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १०, बुधबार २०:३५

नुवाकोट, असार १० — तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा दाङसिङ रयलछापस्थित गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासकीय भवनमा भव्य रूपमा सम्पन्न भएको छ। गाउँसभाले गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।


पारित नीति तथा कार्यक्रममा शिक्षा, सामाजिक सुरक्षा, पूर्वाधार विकास, कृषि तथा सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। विद्यालय कर्मचारी र लेखापाललाई गाउँपालिकाले उपलब्ध गराउँदै आएको अतिरिक्त सुविधालाई निरन्तरता दिँदै मासिक रु. ३ हजार थप वृद्धि गर्ने व्यवस्था गरिएको छ।


त्यसैगरी ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा टुहुरा लगायत लक्षित वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ताबाहेक थप सहयोग उपलब्ध गराइने भएको छ। दाङसिङ माध्यमिक विद्यालयमा स्नातक तह सञ्चालनका लागि बजेट व्यवस्था गर्ने, विद्यालयहरूको शैक्षिक नतिजा सुधारका लागि मासिक समीक्षा प्रणाली लागू गर्ने तथा कक्षा १० का विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने कार्यक्रम पनि समेटिएको छ।


गाउँपालिकाले प्रविधिमैत्री डिजिटल शिक्षाको सुरुआत, ‘बुक फ्री डे’ र ‘स्किल अफ फ्राइडे’ कार्यक्रम सञ्चालन, खेलकुद पूर्वाधार तथा रङ्गशाला निर्माण, सडक, सिँचाइ र खानेपानी पूर्वाधार विस्तारलाई विशेष प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।
महिला, ज्येष्ठ नागरिक तथा अन्य लक्षित समुदायको सीप विकास, स्वावलम्बन र सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।


गाउँसभा सफलतापूर्वक सम्पन्न भएकोमा अध्यक्ष शिव अधिकारी ‘अविरल’ले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै नीति तथा कार्यक्रम र आगामी बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबैको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *