विदुर, असार १० – विदुर नगरपालिकाको १९औँ नगरसभाको पहिलो बैठक असार १० गते बुधबार नगरप्रमुख तथा सभाध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ। स्थानीय सरकारको दोस्रो कार्यकालको अन्तिम वर्षका लागि ल्याइएको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
बैठकमा नगरप्रमुख श्रेष्ठले आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नगरपालिकाको समग्र विकास, सुशासन, प्रभावकारी सेवा प्रवाह, पूर्वाधार विस्तार तथा सामाजिक–आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको नीति तथा कार्यक्रम नगरसभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
नीति तथा कार्यक्रमकै आधारमा नगर उपप्रमुख प्रभा बोगटीले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १६ करोड ६२ लाख ५० हजार १८० रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरणसहितको बजेट, योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। स्थानीय आवश्यकता, नागरिकको अपेक्षा र समावेशी विकासको अवधारणालाई आत्मसात् गर्दै तयार गरिएको बजेटमाथि छलफल पश्चात् नगरसभाले सर्वसम्मत रूपमा पारित गरेको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार विकास र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै बजेट कार्यान्वयन गर्ने नीति लिएको छ। साथै वातावरण संरक्षण, सूचना प्रविधिको विकास, रोजगार प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका कार्यक्रमलाई पनि विशेष महत्व दिइएको छ।
नगरसभाले स्थानीय सरकारको दोस्रो कार्यकालको अन्तिम वर्षमा दीर्घकालीन विकासका आधार तयार गर्ने, उत्पादनमुखी कृषि प्रणाली विस्तार गर्ने, स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने, शैक्षिक सुधारलाई तीव्रता दिने तथा नगरभित्रको पर्यटन प्रवर्द्धनमार्फत आर्थिक गतिविधि बढाउने लक्ष्य लिएको जनाएको छ।
यसै अवसरमा नगरपालिकाको सेवा प्रवाह, कार्यसम्पादन तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याउने चालु आर्थिक वर्षका उत्कृष्ट कर्मचारीहरूलाई नगरप्रमुख राजन श्रेष्ठले सम्मान गर्नुभएको थियो। त्यसैगरी नगरको राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्याउने उत्कृष्ट करदाताहरूलाई पनि विशेष सम्मान गरिएको थियो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्