काठमाडौं, असार ११ – आज ज्येष्ठ शुक्ल पक्षको एकादशी अर्थात् निर्जला एकादशी देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ मनाइँदै छ। हिन्दु धर्मावलम्बीहरूले यस दिन भगवान विष्णुको पूजा–आराधना गर्दै उपवास बस्ने परम्परा रहेको छ।
निर्जला एकादशीलाई सबै एकादशीमध्ये विशेष पुण्यदायी र फलदायी मानिन्छ। यस दिन अन्न र जलसमेत ग्रहण नगरी व्रत बस्ने धार्मिक मान्यता रहेकाले यसलाई ‘निर्जला’ एकादशी भनिएको हो। धार्मिक विश्वासअनुसार आजको व्रतले वर्षभरिका एकादशी व्रतको फल प्राप्त हुने मान्यता छ।
आज उपवास बसी जल वा सर्वतले भरिएको घडा दान गर्नाले पुण्य प्राप्त हुने विश्वास रहिआएको छ। साथै, आत्मसंयम, अनुशासन र सदाचारको अभ्यासका रूपमा पनि यो व्रतलाई महत्वपूर्ण मानिन्छ।
निर्जला एकादशीकै दिन पवित्र स्थान वा तुलसीको मठमा तुलसी रोपण गर्ने चलन छ। आज रोपिएको तुलसीलाई चार महिनापछि आउने हरिबोधिनी एकादशीका दिन भगवान विष्णुसँग विवाह गराउने धार्मिक परम्परा रहेको छ, जसलाई तुलसी विवाहका रूपमा मनाइन्छ।
धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने निर्जला एकादशीले नेपाली समाजमा भक्ति, दान र सद्भावको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्