कल्याणी माविका एसईई र कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बेलकोटगढी–८ द्वारा सम्मान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १२, शुक्रबार २०:१७

बेलकोटगढी (नुवाकोट) : नुवाकोटको बेलकोटगढी नगरपालिका–८ वडा कार्यालयको आयोजनामा कल्याणी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा एसईई र कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको छ।

बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष सुरेशलाल चित्रकारकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

प्रमुख अतिथि उपप्रमुख दाहालले कल्याणी माध्यमिक विद्यालय नगरपालिकाको गौरवको शैक्षिक संस्था भएको उल्लेख गर्दै विद्यालयको विकास र उन्नतिका लागि नगरपालिका तथा व्यक्तिगत रूपमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्यालयका आवश्यकतालाई उचित सम्बोधन गरिएको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद पुडासैनीले नगरपालिकाले विद्यालयप्रति देखाएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै यस्ता सम्मान कार्यक्रमले शिक्षक तथा विद्यार्थीको मनोबल उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि विद्यालयले उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

शिक्षाप्रेमी तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र ढुङ्गानाले विद्यालयको उत्कृष्ट नतिजामा योगदान पुर्‍याउने शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि समन्वय र सहकार्यका साथ अघि बढ्न आग्रह गर्नुभयो।

शिक्षिका प्रमिला दाहालले विद्यालयप्रति नगरपालिका र वडा कार्यालयले देखाएको अपनत्वको प्रशंसा गर्दै आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा उपप्रमुख, वडा अध्यक्ष तथा अतिथिहरूले संयुक्त रूपमा शिक्षक र उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई प्रशंसापत्र तथा सम्मानपत्र प्रदान गरेका थिए।


कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष चित्रकारले कल्याणी माध्यमिक विद्यालयले हरेक वर्ष नुवाकोटकै उत्कृष्ट नतिजा हासिल गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवार सम्मानको पात्र रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षमा शैक्षिक सामग्री उपलब्ध गराउने तथा शिक्षक–विद्यार्थीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै वडा कार्यालय सधैं विद्यालयको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकुमार पुडासैनी भने सहभागि थिएनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *