एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ, ८ करोड ७८ लाख रुपैयाँ अपचलन आरोपमा अनुसन्धान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १३, शनिबार १०:२८

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शुक्रबार साँझ उनलाई पक्राउ गरेको हो। सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार हात्तीगौँडास्थित टुंगरम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा शेर्पामाथि अनुसन्धान भइरहेको छ।


सीआईबीका अनुसार टुंगरम इन्टरनेशनल एकेडेमीका तर्फबाट अख्तियारप्राप्त प्रतिनिधि रामचन्द्र बहाला श्रेष्ठले दिएको जाहेरीका आधारमा शेर्पालाई पक्राउ गरिएको हो।


अनुसन्धानका क्रममा विद्यालयको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा शेर्पाले विभिन्न प्रपञ्च गरी व्यक्तिगत लाभ लिएको र विद्यालयलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोप लागेको ब्यूरोले जनाएको छ।


उनीमाथि भक्तपुरको दधिकोटस्थित विद्यालयको २९ रोपनीभन्दा बढी जग्गा आफू सम्बद्ध कम्पनीलाई बिक्री गरेको, विद्यालयका नाममा सवारी साधन खरिद गरी व्यक्तिगत प्रयोग गरेकोलगायतका आरोपहरू पनि अनुसन्धानको दायरामा रहेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *