नुवाकोट, असार १५ । वर्षायामसँगै बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का घटनाको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लामा २४सै घण्टा सञ्चालन हुने ‘विपद् कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।
जिल्ला प्रशासन कार्यालयअन्तर्गत जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) बाट सञ्चालन गरिएको उक्त कल सेन्टरमार्फत विपद्सम्बन्धी सूचना, उद्धार, राहत तथा समन्वयका लागि नागरिकले जुनसुकै बेला सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
विपद्को अवस्थामा तत्काल सहयोग आवश्यक परे हटलाइन नम्बर ११४९ तथा सम्पर्क नम्बर ०१०–५६१९३३ मा फोन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। साथै deocnuwakot@gmail.com मार्फत पनि सूचना तथा जानकारी उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।
यस्तै, सुरक्षा निकायका आपतकालीन सेवाका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १०० तथा सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर १११४ मा पनि सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले बाढी, पहिरो, डुबानलगायत विपद्को जोखिम रहेका क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, अफवाहमा विश्वास नगर्न तथा कुनै पनि आपतकालीन घटना भए तत्काल सम्बन्धित निकायमा जानकारी गराई उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन आग्रह गरेको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्