नुवाकोट, असार १५ । २३औँ राष्ट्रिय धान दिवसको अवसरमा नुवाकोटको किस्पाङ गाउँपालिका–४ साल्मेमा समुद्री सतहबाट करिब १,९०० मिटर उचाइमा रातो मार्शी धान रोपिएको छ।
किस्पाङ गाउँपालिकाको आयोजनामा, वडा नं. ४ कार्यालयको सह–आयोजना तथा संगम कृषक समूहको संयोजनमा स्थानीय कृषकहरूको सक्रिय सहभागितामा मार्शी धान रोपाइँ कार्यक्रम सम्पन्न भएको हो।
उच्च पहाडी भेगमा समेत स्थानीय जातको पौष्टिक तथा गुणस्तरीय रातो मार्शी धानको संरक्षण, प्रवर्द्धन र उत्पादन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। राष्ट्रिय धान दिवसलाई कृषि उत्पादनसँग जोड्दै स्थानीय कृषकलाई परम्परागत तथा रैथाने बालीतर्फ आकर्षित गर्ने लक्ष्यसहित सामूहिक रूपमा धान रोपाइँ गरिएको हो।
कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, वडा नं. ४ का अध्यक्ष विनोद तामाङ, कृषि शाखाका कर्मचारी तथा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले उच्च पहाडी क्षेत्रमा समेत मार्शी धानको उत्पादन विस्तार गर्न सके स्थानीय खाद्य सुरक्षामा टेवा पुग्नुका साथै रैथाने बालीको संरक्षण र किसानको आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय जातका बालीको संरक्षण र व्यावसायिक उत्पादनलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्