नुवाकोट, असार १६ । सूर्यगढी गाउँपालिकाका अग्रज समाजसेवी, पूर्व गाउँ पञ्चायतका प्रधानपञ्च तथा नेपाली कांग्रेस सूर्यगढी गाउँपालिकाका सभापति शंकरबहादुर प्याकुरेल, कोमलबहादुर प्याकुरेल र बोधबहादुर प्याकुरेलका पूजनीय पिता हितबहादुर प्याकुरेलको ८७ वर्षको उमेरमा असामयिक निधन भएको छ। उहाँको जन्म वि.सं. १९९७ मा भएको थियो भने वि.सं. २०८३ असार १५ गते साेमबार उहाँको निधन भएको हो। स्वर्गीय प्याकुरेलकाे आज पशुपतिमा अन्तिम संस्कार गरिने पारिवारिक स्राेतले बताएका छन् ।
प्याकुरेलको निधनसँगै सूर्यगढी गाउँपालिका एक अनुभवी अभिभावक, समाजलाई मार्गदर्शन गर्ने अग्रज व्यक्तित्व तथा सामाजिक सद्भावका प्रतीकलाई गुमाएको अनुभूति गरिएको छ। उहाँले आफ्नो जीवनकालभर समाजको हित, विकास र आपसी एकतालाई सुदृढ बनाउन पुर्याउनुभएको योगदान स्थानीयवासीले सधैं स्मरण गर्ने बताएका छन्।
उहाँको निधनको खबरपछि सूर्यगढी गाउँपालिका शोकमग्न बनेको छ। विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यो पीडा सहन सक्ने धैर्य, शक्ति र साहस प्राप्त होस् भन्ने कामना गरेका छन्।
यसैबीच, नेपाली कांग्रेस नुवाकोटले पनि एक शोक वक्तव्य जारी गर्दै हितबहादुर प्याकुरेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले स्वर्गीय प्याकुरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको जनाएको छ।
स्वर्गीय हितबहादुर प्याकुरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्थानीयवासीहरूले उहाँले समाजमा पुर्याउनुभएको योगदान, सरल जीवनशैली, इमान्दारिता र नेतृत्वदायी भूमिकाले भावी पुस्तालाई पनि प्रेरणा दिइरहने विश्वास व्यक्त गरेका छन्। उहाँको निधनले प्याकुरेल परिवार मात्र नभई समग्र सूर्यगढी क्षेत्रलाई नै अपूरणीय क्षति पुगेको महसुस गरिएको छ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्