नुवाकोटमा सवारी साधनका कालो सिसा र स्टिकर हटाउने अभियान सुरु, अटेर गरे एक सातापछि कारबाही गरिने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १६, मंगलवार १९:५४


नुवाकोट, असार १६ । नुवाकोटमा सवारी साधनमा जडान गरिएका कालो सिसा तथा कालो प्लास्टिक स्टिकर हटाउने अभियान सुरु गरिएको छ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सोमबारदेखि टोखा–छहरे सडकखण्ड हुँदै सञ्चालन हुने तथा नुवाकोट आसपासका विभिन्न सवारी साधनमा राखिएका कालो स्टिकर हटाउन थालेको हो।


जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेन्द्र बिष्टका अनुसार अभियानलाई निरन्तर सञ्चालन गरिनेछ। अभियान सुरु भएको एक सातापछि पनि नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कानुनबमोजिम कारबाही गरिने उनले बताए।


सोमबार विदुर क्षेत्रमा सञ्चालन गरिएको अभियानका क्रममा निजी, सार्वजनिक तथा सरकारी गरी करिब ३० वटा सवारी साधनको जाँच गरी जडान गरिएका कालो स्टिकर हटाइएको प्रहरीले जनाएको छ। साथै १०० भन्दा बढी सवारी चालकलाई ट्राफिक नियम पालना गर्न सचेतना तथा सम्झाइबुझाइ गरिएको छ।


ट्राफिक प्रहरीले सवारी साधनमा कालो सिसा वा कालो स्टिकर प्रयोग गर्दा सुरक्षा निकायको निगरानीमा समस्या हुने तथा दुर्घटना अनुसन्धानमा समेत कठिनाइ पर्ने भएकाले यस्तो अभियान सञ्चालन गरिएको जनाएको छ। प्रहरीले सबै सवारीधनीलाई स्वेच्छाले नियम पालना गर्न आग्रह गर्दै अटेर गरेमा प्रचलित कानुनअनुसार जरिवाना तथा अन्य कारबाही गरिने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *