नुवाकोट पुकार समाचारदाता
नुवाकोट । बिहानको समय। लगातार पानी परिरहेको थियो। गाउँका कच्ची सडक हिलोले भरिएका थिए। त्यही बेला एउटा फोन आयो।
हजुर, देउरालीको एम्बुलेन्स हो ? हो हजुर, भन्नुहोस्, एम्बुलेन्स चालक रिदम बाँस्कोटाले जवाफ दिए। उताबाट चिन्तित स्वर आयो, यता धेरै पानी परिरहेको छ। आउन सकिन्छ कि सकिँदैन ?
रिदमले कुनै बहाना बनाएनन्। छोटो जवाफ दिए,आउँछौँ, सकिन्छ।
यही विश्वासले एउटा बिरामी र उनका परिवारमा आशा जगायो।
बेलकोटगढी नगरपालिका– ५ र ६ लगायतका वडामा सेवा दिइरहेको नगरपालिकाको एम्बुलेन्सका चालक रिदम बाँस्कोटाका लागि यो काम केवल रोजगारी होइन, मानव सेवाको जिम्मेवारी हो। बाटो हिलो होस्, वर्षा होस् वा यात्रा जोखिमपूर्ण, उनी बिरामीको जीवनलाई पहिलो प्राथमिकतामा राखेर गन्तव्यतर्फ अघि बढ्छन्।
त्यो दिन पनि अवस्था निकै चुनौतीपूर्ण थियो। चिप्लो सडक, खोल्सामा बगिरहेको पानी र गाडी फस्ने जोखिमका बीच उनी बिरामी भएको स्थानमा पुगे। चोटका कारण बिरामी असह्य पीडामा थिए। सावधानीपूर्वक एम्बुलेन्समा राखेर उपचारका लागि यात्रा सुरु भयो।
बाटोमै बिरामीको अवस्था थप जटिल बनेपछि सुकुमान अस्पताल पुगेर दुखाइ कम गर्ने औषधि दिइयो। त्यसपछि फेरि काठमाडौंतर्फको यात्रा अघि बढ्यो। बाहिर मुसलधारे वर्षा थियो, सडक जोखिमपूर्ण थियो, तर मनमा एउटै कामना थियो—बिरामीलाई सुरक्षित अस्पताल पुर्याउने।
घण्टौँको संघर्षपछि अन्ततः बिरामीलाई सकुशल काठमाडौं पुर्याउन सफल भए।
रिदम भन्छन्, हाम्रो लागि एम्बुलेन्स चलाउनु केवल जागिर होइन। हरेक फोनसँग कसैको आशा जोडिएको हुन्छ। हरेक यात्रासँग एउटा जीवन जोडिएको हुन्छ। अस्पताल पुग्दासम्म भगवान्सँग बिरामीको सुरक्षाका लागि कैयौँ पटक प्रार्थना गरिरहेका हुन्छौँ।
बेलकोटगढीका धेरै स्थानीयका लागि रिदम बाँस्कोटा अब केवल एम्बुलेन्स चालक होइनन्, संकटका बेला भरोसाका अर्को नाम बनेका छन्। उनको सेवाभावले गाउँलेको मन जितेको छ।
समाजमा यस्ता सेवाभावी व्यक्तिहरू नै मानवताको वास्तविक उदाहरण हुन्। युवाहरु केही पढेपछि र जान्नेभएपछि नेपालमा केही हुँदैन भनेर विदेश पलायन हुने कुरा परम्परागत नै बनिसकेको छ, तर गाउँका एक युवा हातमा राम्रो सिप हूँदा हुँदै पनि गाउँमा सेवाभावको काममा व्यस्त छन् । आफ्नो जिम्मेवारीलाई केवल पेशा होइन, सेवाको रूपमा निर्वाह गर्ने रिदम बाँस्कोटाजस्ता व्यक्तिप्रति सम्मान व्यक्त गर्नु हामी सबैको दायित्व हो। ताकि पैसा र सुखको बाटो खोजिरहेको नेपाली समाजका लागि भोलिका दिनमा हामीले अरु पनि यस्ता असल युवाहरु जन्माउन सकौं ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्