काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार रूपमा प्रयोग गर्न र अनावश्यक स्वास्थ्य सेवा तथा परीक्षणको माग नगर्न आग्रह गरेको छ।
शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत बोर्डले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन पनि बीमितलाई अनुरोध गरेको हो। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बोर्डको भनाइ छ।
बोर्डले सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद पनि स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौं नागरिकले सेवा लिइरहेको जनाएको छ। उपचारका क्रममा नागरिकले आफ्नै खर्च कम गर्न तथा वित्तीय जोखिमबाट संरक्षण गर्न स्वास्थ्य बीमाले महत्वपूर्ण योगदान पुर्याएको पनि बोर्डले उल्लेख गरेको छ।
सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानीमा ढिलाइ भएको विषयमा आफूहरू जानकार रहेको जनाउँदै बोर्डले चालु आर्थिक वर्षमा विभिन्न मितिमा सेवा प्रदायक संस्थाहरूलाई रु. २३ अर्ब ४४ करोडभन्दा बढी भुक्तानी गरिसकेको जानकारी दिएको छ। बाँकी दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन र दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बोर्डले जनाएको छ।
साथै, बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमितको उपचार सेवामा कुनै अवरोध नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत तोकिएको मापदण्डअनुसार गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउन आग्रह गरेको छ।

नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्