कांग्रेस नुवाकोटको असन्तुष्टि सतहमा,क्रियाशील सदस्यता छलफलमै फितलो उपस्थिति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १९, शुक्रबार २०:३६

केन्द्रीय प्रतिनिधिको उपस्थितिमा आयोजित संयुक्त बैठकमा अधिकांश जिल्ला, क्षेत्रीय र महाधिवेशन प्रतिनिधि अनुपस्थित; संगठनभित्रको निष्क्रियता र असन्तुष्टि थप उजागर


विदुर (नुवाकोट) । नेपाली कांग्रेस नुवाकोटमा क्रियाशील सदस्यता अध्यावधिक तथा नयाँ सदस्यता वितरणबारे छलफल गर्न आयोजित संयुक्त बैठकमा अपेक्षाकृत न्यून उपस्थिति देखिएपछि जिल्लाभित्रको आन्तरिक असन्तुष्टि फेरि सतहमा आएको छ ।


पार्टीको केन्द्रीय कार्यालयको निर्णयअनुसार केन्द्रीय प्रतिनिधिको रोहवरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ को संयुक्त बैठक पार्टी कार्यालय विदुरमा आयोजना गरिएको थियो । बैठकको उद्देश्य क्रियाशील सदस्यता अध्यावधिक, नयाँ सदस्यता वितरण तथा संगठनात्मक विषयमा व्यापक छलफल गरी आवश्यक निर्णय गर्नु रहेको थियो । यसका लागि पार्टीका दुबै क्षेत्रका महाधिवेशन प्रतिनिधिदेखि महासमिति, क्षेत्रीय समिति, जिल्ला समिति, प्रदेश कार्यसमिति र वडासमितिसम्मलाई बोलाइएको थियो । तर कार्यक्रममा केही सिमित नेताहरु मात्रै देखिएका थिए ।


बैठकमा जिल्ला सभापति रमेश महत, क्षेत्र नं. १ का सभापति ध्रुव श्रेष्ठ, पूर्व जिल्ला सभापति धुर्व अधिकारीसहित धेरै महाधिवेशन तथा महासमिति सदस्यहरुको उपस्थिति थिएन । जिल्लाका अधिकांश पदाधिकारी काठमाडौंमा थिए । धेरैले पार्टीको विवादित गतिविधि र संस्थापनपक्षको एकलौटी निर्णयप्रति नैराश्यता व्यक्त गर्दै बैठकमा जानु र जनानुको कुनै अर्थ नभएको प्रतिक्रिया दिए । कार्यक्रममा कांग्रेस नेता जगदीश्वरनरसिंह केसी, क्षेत्रीय सभापति जगतबहादुर तामाङ, जिल्ला उपसभापति राजु थापा, श्री सापकोटा, चोकराज शाक्य ,पूर्व जिल्ला सचिव सुरेन्द्रराज अधिकारी,तादी सभापति नारायण पाण्डे, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाडलगायत केही जिल्ला तहका नेताको उपस्थिति रहे पनि समग्र सहभागिता भने निकै फितलो देखिएको छलफलमा सहभागि कांग्रेसका एक नेताले नुवाकोट पुकारलाई बताए । उनले भने कांग्रेस जस्तो यति ठुलो र लोकतानित्रक पार्टीको कार्यक्रम यस्तो कमजोर उपस्थिति हुन थालेको सायद अहिले नै होला ।


जिल्लाका दुई निर्वाचन क्षेत्रका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, नगर तथा गाउँपालिका सभापति, वडा सभापति, क्षेत्रीय पदाधिकारी र विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीलाई बोलाइएको बैठकमा जम्मा ५० जनाभन्दा कमको सहभागिता रहनु कांग्रेसभित्रको आन्तरिक विवादको चरम उत्कर्स हो भन्ने बुझ्न सकिन्छ, सहभागि नभएका अर्का एक कांग्रेस महाधिवेशन प्रतिनिधिले बताए । विशेषगरी क्षेत्र नं. १ का धेरै नेता–कार्यकर्ता, महाधिवेशन प्रतिनिधि तथा जिल्ला पदाधिकारीको अनुपस्थितिले संगठनभित्र बढ्दो असन्तुष्टि र गुटगत दूरीको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा छ।


क्रियाशील सदस्यता आगामी महाधिवेशनको आधार मानिने भएकाले यस्तो महत्वपूर्ण विषयमा समेत अपेक्षित सहभागिता नहुनुलाई सामान्य रूपमा लिन नसकिने नेताहरूको बुझाइ छ। जिल्लाभित्र लामो समयदेखि नेतृत्व, संगठन परिचालन र सदस्यता व्यवस्थापनका विषयमा देखिँदै आएको असन्तुष्टि यस बैठकको उपस्थितिले पनि पुष्टि गरेको विश्लेषण हुन थालेको छ।


पार्टीले सदस्यता अध्यावधिक र नयाँ सदस्यता वितरण प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरे पनि त्यसलाई सफल बनाउन सबै तहका नेता–कार्यकर्ताको सक्रिय सहभागिता अपरिहार्य रहने कांग्रेस वृत्तको धारणा छ । तर, महत्वपूर्ण बैठकमै अधिकांश जिम्मेवार नेताको अनुपस्थितिले नुवाकोट कांग्रेसभित्रको आन्तरिक अवस्था अझै सहज नभएको स्पष्ट संकेत गरेको छ ।कांग्रेसभित्रको यहि असन्तुष्टिका कारण १४ हजार क्रियाशिल सदस्य भएपनि जम्मा साढे ७ हजारले मात्रै अध्यावधिक गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *