काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सरकारको सय दिनको कार्यकाल सुशासन र लोकतान्त्रिक अभ्यासका हिसाबले सन्तोषजनक नरहेको टिप्पणी गरेका छन्।
सरकारले १०० दिन पूरा गरेको अवसरमा आफ्नै निवासबाट प्रतिक्रिया दिँदै प्रतिनििधिसभा सदस्य समेत रहेका नेता केसीले सरकारले घोषणा गरेका सय बुँदे कार्यक्रममध्ये २५ प्रतिशत पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको दाबी गर्दै सुशासन नारामै सीमित भएको र विकृति झन् बढ्दै गएको बताए।
केसीले लोकतन्त्र भनेको केवल निर्वाचनको परिणाम मात्र नभई शासन सञ्चालनको पद्धति पनि लोकतान्त्रिक हुनुपर्नेमा जोड दिए। तर वर्तमान सरकार लोकतान्त्रिक पद्धतिलाई नै कमजोर बनाउने दिशामा अघि बढिरहेको आरोप लगाए।
उनले सरकारको सय दिनमै सम्पूर्ण मूल्यांकन गर्ने बेला नभए पनि मुलुकमा निर्माण भइरहेको राजनीतिक परिवेश शुभ संकेत नभएको बताए। संविधानले सुनिश्चित गरेका अधिकारबाहेक नागरिकले शान्तिपूर्ण रूपमा आफ्ना विचार राख्न पाउने अधिकारसमेत नियन्त्रण गर्न खोजिएको आभास भइरहेको उनको भनाइ थियो।
विश्वका विभिन्न मुलुकमा दुईतिहाइ वा स्पष्ट बहुमत प्राप्त सरकारहरू निरंकुश बनेका उदाहरण उल्लेख गर्दै केसीले वर्तमान सरकार पनि त्यही दिशातर्फ उन्मुख देखिएकाले सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए।
उनले सरकार र प्रतिपक्ष दुवैले एकअर्काको विरोधमै सीमित नभई संवाद, सहकार्य र सकारात्मक राजनीतिक संस्कृतिमार्फत अघि बढ्नुपर्ने बताए। लोकतान्त्रिक मूल्य र मान्यताको पक्षधर नेपाली कांग्रेसले यसमा सहजीकरणको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसभित्र पनि एकता कायम गरेर अघि बढ्न आग्रह गरे।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्