लाइफभन्दा लाइक’ मा केन्द्रित सरकार, प्रक्रिया मिचेर निर्णय गरिरहेको सभापति गगन थापाको आरोप

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २१, आईतवार १५:०९

काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार नागरिकको जीवनस्तर सुधारभन्दा सामाजिक सञ्जालमा लोकप्रियता बटुल्न बढी केन्द्रित भएको आरोप लगाएका छन्।


सरकारले १०० दिनका उपलब्धि सार्वजनिक गरेपछि कांग्रेसले आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै थापाले सरकारको कार्यशैलीलाई पाँच आधारमा मूल्यांकन गरेको बताए। उनका अनुसार सरकारका निर्णयमा नागरिकको जनजीविकाभन्दा ‘लाइक’ बढाउने मानसिकता हाबी देखिएको छ।


थापाले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन तथा संरचनागत भएकाले त्यसको समाधान संवेदनशील ढंगले गर्नुपर्ने बताए। विगतका सरकारले यस विषयमा केही आधार तयार गरिसकेको उल्लेख गर्दै उनले वर्तमान सरकारले कानुनी प्रक्रिया पूरा नगरी बस्तीमा डोजर चलाएर ‘फिल्मी शैली’ प्रदर्शन गरेको आरोप लगाए।


दलित समुदायसँग सरकारले सार्वजनिक रूपमा माफी मागेको विषयलाई सकारात्मक भन्दै उनले त्यसले मात्रै नपुग्ने बताए। दलित समुदायको जीवनमा वास्तविक सुधार ल्याउने नीति र कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो। सुकुम्बासी बस्तीबाट विस्थापित भएकामध्ये धेरै दलित समुदायका नागरिक रहेको दाबी पनि उनले गरे।


शिक्षा क्षेत्रको उदाहरण दिँदै थापाले परीक्षा नतिजा छिटो प्रकाशित हुनु सकारात्मक भए पनि नतिजामा देखिएका गम्भीर त्रुटिका कारण सयौँ विद्यार्थी अझै आन्दोलनमा उत्रिनुपरेको उल्लेख गरे। छिटो नतिजा सार्वजनिक गर्नु मात्र उपलब्धि नभई त्यसको शुद्धता र विद्यार्थीको भविष्यप्रतिको जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुने उनले बताए।

सरकारले निर्णय गर्दा त्यसले नागरिकको जीवनमा पार्ने प्रभावभन्दा लोकप्रियता बढाउने पक्षलाई प्राथमिकता दिएको उनको आरोप थियो। लोकतान्त्रिक शासन व्यवस्थामा परिणामसँगै प्रक्रिया पनि उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै थापाले कानुनी प्रक्रिया बेवास्ता गरिए अन्ततः त्यसले दुर्घटनाको अवस्था निम्त्याउन सक्ने चेतावनी दिए।


उनले परिणाम देखाउने नाममा प्रक्रियालाई बेवास्ता गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको पनि बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *