नुवाकोट, असार २३ – नुवाकोटको विदुर नगरपालिका–४ स्थित बट्टार बजारमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।
सोमबार राति करिब ८:३० बजे विदुरबाट बट्टारतर्फ जाँदै गरेको बा ४७ प १६३४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका विदुर नगरपालिका–४ निवासी करिब ५५ वर्षीय प्रेमप्रसाद रिजाललाई ठक्कर दिएको थियो। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि तत्काल त्रिशूली अस्पताल, नुवाकोटमा उपचारका लागि लगिएका रिजाललाई थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल रिफर गरिएको थियो। तर, उपचारकै क्रममा सोमबार राति करिब ११:३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक विदुर नगरपालिका–१ निवासी करिब ३० वर्षीय राजकुमार मिजारको दाहिने हातको हत्केलामा सामान्य चोट लागेको छ।
प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्