कम्युनिस्ट एकता ः पुराना अनुहारले अब अर्थ राख्दैनन्

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २४, बुधबार ०९:११

= शुकदेव दाहाल

कुनैबेला एशियाकै शक्तिशाली राजनीतिक शक्तिका रूपमा चिनिएको नेपालको कम्युनिस्ट आन्दोलन आज रक्षात्मक अवस्थामा पुगेको छ । २०७४ सालमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धन, त्यसपछिको पार्टी एकता र झण्डै दुई तिहाइ जनमतले कम्युनिस्ट आन्दोलनलाई ऐतिहासिक उचाइमा पु¥याएको थियो । तर त्यही शक्ति केही वर्षमै विभाजित मात्र भएन, जनविश्वास पनि तीव्र रूपमा गुमायो।


यसको प्रमुख कारण बाह्य शक्ति वा विपक्षी दल होइनन्, स्वयं कम्युनिस्ट नेतृत्वको कार्यशैली हो । सत्ता प्राप्त भएपछि जनताको अपेक्षा पूरा गर्नुभन्दा व्यक्तिगत महत्वाकांक्षा, शक्ति संघर्ष र एकअर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनायो । केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालजस्ता नेताहरूबीचको टकरावले पार्टी विभाजन मात्र गराएन, लाखौं समर्थकलाई पनि निराश बनायो ।


आज फेरि कम्युनिस्ट एकताको चर्चा सुरु भएको छ । विराटनगरमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नयाँ राजनीतिक पहलको संकेत दिएका छन् भने मदन भण्डारीको जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालले कम्युनिस्ट तथा देशभक्त शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा राखे। यसले राजनीतिक वृत्तमा फेरि एकताको बहस जन्माएको छ ।


तर प्रश्न उठ्छ– के यही नेतृत्वको एकताले जनविश्वास फर्काउन सक्छ ? उत्तर सहज देखिँदैन । किनभने जनताले नेताहरूको भाषणभन्दा उनीहरूको विगतको कार्यशैली हेरेका छन् । पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा सुशासन, विकास, रोजगारी र समृद्धिको अपेक्षा पूरा हुन सकेन। बरु सत्ता टिकाउने खेल, आन्तरिक विवाद र व्यक्तिगत स्वार्थले प्राथमिकता पायो ।


राजनीतिमा इतिहासको योगदान सम्मानयोग्य हुन्छ, तर त्यसकै आधारमा सधैं नेतृत्वको दाबी गर्न सकिँदैन । समयसँगै नेतृत्व पनि परिवर्तन हुनुपर्छ। घाम पनि समय आएपछि अस्ताउँछ र नयाँ बिहानी सुरु हुन्छ। लोकतन्त्रको मूल मर्म पनि यही हो कि नयाँ पुस्ताले नयाँ सोच र नयाँ नेतृत्वमार्फत भविष्य निर्माण गर्ने अवसर पाओस् ।


यदि नेपालको कम्युनिस्ट आन्दोलनलाई दीर्घकालसम्म जीवित र सशक्त बनाउने हो भने अब पुराना अनुहारको एकताभन्दा नयाँ पुस्ताको नेतृत्व निर्माणमा ध्यान दिनुपर्छ। एउटै अनुहार, उही शैली र उही राजनीतिक संस्कृतिले जनविश्वास फर्काउन सक्दैन। बरु असफल नेतृत्वले सम्मानजनक रूपमा जिम्मेवारी हस्तान्तरण गरेर युवालाई अवसर दिन सके आन्दोलनले नयाँ ऊर्जा प्राप्त गर्न सक्छ ।


अन्यथा, कम्युनिस्ट एकताको नाराले केही समय चर्चा त पाउन सक्छ, तर जनमत फर्काउन सक्ने आधार बन्न सक्दैन । आजका मतदाता पहिलेभन्दा धेरै सचेत छन ्। उनीहरू विगतका उपलब्धिभन्दा भविष्यको भरोसा खोजिरहेका छन् । त्यसैले अब आवश्यकता पुराना नेताहरूको पुनर्मिलन होइन, नयाँ नेतृत्व, नयाँ सोच र नयाँ राजनीतिक संस्कृतिको हो। यही परिवर्तनले मात्र नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न सक्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *