विश्वकपको उत्साह, नेपाली फुटबलको यथार्थ(सम्पादकीय)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २४, बुधबार ०९:१८

यतिखेर विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव चलिरहेको छ । विश्वकपसँगै संसारभरका करोडौं खेलप्रेमी झैँ नेपाली दर्शक पनि उत्तिकै उत्साहित छन् । रातभर जाग्राम बसेर खेल हेर्ने, मनपर्ने टोली र खेलाडीको समर्थनमा सामाजिक सञ्जाल रंग्याउने तथा जित–हारसँगै भावनात्मक रूपमा जोडिने नेपाली समर्थकहरूको संख्या निकै ठूलो छ । कतिपय घरमा एउटै खेलका कारण दुई फरक टोलीका समर्थकबीच रमाइला बहस भइरहेका छन् । सामाजिक सञ्जालमा पनि समर्थकहरू देश, क्लब र खेलाडीका आधारमा विभाजित देखिन्छन् । यसले नेपाली समाजमा फुटबलप्रतिको गहिरो आकर्षण स्पष्ट रूपमा देखाउँछ ।


तर एउटा प्रश्न भने बारम्बार उठिरहन्छ—यति धेरै फुटबलप्रेमी भएको देश किन विश्व फुटबलको प्रतिस्पर्धामा कतै देखिँदैन? विश्वकपमा नेपाल सहभागी नहुनु त परको कुरा, अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपस्थिति समेत बनाउन नसक्नु हाम्रो खेलकुद व्यवस्थाको सबैभन्दा ठूलो विडम्बना हो ।अझ अर्को बिडम्बना यति नै खेर अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ ।


फिफा काउन्सिल ब्युरोले बुधबार(सन् २०२६ जुन २४ मा) फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ ।निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले उल्लेख गरेको छ । यो हाम्रा लागि अत्यन्त दुःखद् क्षण हो । विश्व फुटबलम रमाइरहेका बेला नेपालले यस्तो परिस्थितिको सामाना गर्नुपरेको छ । यो कसको कमजोरीका कारण हुन पुग्यो यसको निश्पक्ष छानविन हुनैपर्दछ ।


योसँगै नेपालमा फुटबलप्रति माया गर्नेहरूको कमी छैन । गाउँदेखि शहरसम्म फुटबल लोकप्रिय खेलका रूपमा स्थापित छ । खुला चौर, विद्यालय, कलेज र स्थानीय प्रतियोगिताहरूमा हजारौं युवा आफ्नो प्रतिभा देखाइरहेका छन् । तर ती प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने संरचना कमजोर छ । पर्याप्त खेल मैदान, आधुनिक प्रशिक्षण, वैज्ञानिक तयारी, दक्ष प्रशिक्षक र दीर्घकालीन योजना अभावमा धेरै प्रतिभावान खेलाडी बीचैबाट हराइरहेका छन् ।


फुटबलको विकास केवल खेलाडीको मेहनतले मात्र सम्भव हुँदैन । यसको लागि सरकार, अखिल नेपाल फुटबल संघ (एन्फा), स्थानीय सरकार, निजी क्षेत्र र खेल समुदायबीच प्रभावकारी समन्वय आवश्यक हुन्छ । तर हाम्रो सन्दर्भमा वर्षौंदेखि व्यवस्थापकीय कमजोरी, विवाद, राजनीतिक हस्तक्षेप र योजना अभावले फुटबलको विकास अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।


विश्वका सफल फुटबल राष्ट्रहरूलाई हेर्ने हो भने उनीहरूले बालबालिकाको स्तरदेखि नै खेलाडी उत्पादन गर्ने स्पष्ट प्रणाली निर्माण गरेका छन्। विद्यालय खेलकुद, उमेर समूहका प्रतियोगिता, क्लब संरचना, खेल विज्ञान र पूर्वाधारमा निरन्तर लगानी गरेका कारण उनीहरू आज विश्व फुटबलमा स्थापित भएका हुन्। नेपालले पनि यस्तै दीर्घकालीन सोच र योजनामा अघि बढ्न सके मात्र भविष्यमा सकारात्मक परिणाम देख्न सकिन्छ ।


सरकारले खेलकुदलाई केवल प्रतियोगिता आयोजना गर्ने विषयका रूपमा मात्र होइन, राष्ट्रिय गौरव, युवा विकास र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको क्षेत्रका रूपमा लिन आवश्यक छ । खेलकुदमा गरिएको लगानी खर्च होइन, भविष्यको लगानी हो भन्ने सोच विकास हुनुपर्छ । आधुनिक रंगशाला निर्माण, स्थानीय खेल मैदान संरक्षण, प्रशिक्षक उत्पादन, खेल विज्ञानको प्रयोग र खेलाडीको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छ।


एन्फाले पनि आत्मसमीक्षा गर्ने बेला आएको छ । फुटबल प्रशासन पारदर्शी, उत्तरदायी र परिणाममुखी बन्न सके मात्र समर्थकको विश्वास कायम रहन्छ। प्रतिभा खोज्ने अभियान, नियमित राष्ट्रिय लिग, उमेर समूहका प्रतियोगिता र ग्रामीण क्षेत्रमा फुटबल विस्तारका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ। संस्थागत सुधारबिना नेपाली फुटबलले अपेक्षित उचाइ लिन सक्दैन।


यतिबेला मुलुकमा अपेक्षाकृत युवा नेतृत्वको सरकार छ। परिवर्तन, सुशासन र नयाँ सोचको कुरा गर्ने सरकारले खेलकुदलाई प्राथमिकतामा राख्ने उपयुक्त अवसर यही हो। युवाको ऊर्जा सही दिशामा उपयोग गर्ने प्रभावकारी माध्यम खेलकुद पनि हो। त्यसैले सरकारले फुटबलसहित समग्र खेल क्षेत्रलाई दीर्घकालीन राष्ट्रिय योजनाभित्र समेटेर आवश्यक बजेट, नीति र कार्यान्वयनमा गम्भीरता देखाउनुपर्छ।


नेपाली समर्थकले विश्वका स्टार खेलाडीको खेल हेरेर मात्र रमाउने अवस्था सधैं रहिरहनु हुँदैन। भविष्यमा कुनै दिन विश्वकपको छनोट वा मुख्य प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीको उपस्थिति देख्ने सपना असम्भव होइन, तर त्यसका लागि आजैबाट सही नीति, इमानदार नेतृत्व र दीर्घकालीन तयारी आवश्यक छ।


विश्वकपले हामीलाई मनोरञ्जन मात्र दिएको छैन, एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ—सपना देख्ने राष्ट्रहरूले योजनाबद्ध रूपमा काम गर्दा असम्भवलाई पनि सम्भव बनाउन सक्छन्। नेपालमा फुटबलप्रतिको माया, दर्शकको उत्साह र युवाको प्रतिभा कुनै पनि हिसाबले कम छैन। कमी छ त केवल व्यवस्थित नेतृत्व, स्पष्ट योजना र दृढ राजनीतिक इच्छाशक्तिको।


अब समय आएको छ—विश्व फुटबल हेरेर ताली बजाउने मात्र होइन, नेपाली फुटबलको भविष्य निर्माण गर्ने । सरकार, एन्फा र सम्पूर्ण सरोकारवालाले जिम्मेवारीका साथ काम गरे भने इन्फाबाट फुकुवा हुने कु त छदैछ त्यो भन्दा पनि अझ महत्वपूर्ण कुरा आज दर्शक बनेका नेपाली भोलि विश्व फुटबलको मञ्चमा आफ्नै राष्ट्रिय टोलीको समर्थन गर्दै गर्व गर्ने दिन अवश्य ल्याउनुपर्नेछ । नेतृत्वमा रहनेहरुलाई चेतना भया ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *