सुमन पाण्डेको ‘हरियाली अभियान’ ः राजनीतिमा सक्रियता, नुवाकोटलाई हराभरा बनाउने अभियान अझ प्रभावकारी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २४, बुधबार ०९:२३

नुवाकोट पुकार समाचारदाता
नुवाकोट । चार दशकभन्दा लामो समय नेपालको पर्यटन क्षेत्रमा सफल व्यवसायीका रूपमा परिचित सुमन विक्रम पाण्डे पछिल्ला वर्षहरूमा राजनीतिसँगै सामाजिक अभियानका कारण पनि चर्चामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले आफ्नो लामो पर्यटन व्यवसायलाई स्थगित गर्दै सार्वजनिक जीवन रोजेपछि नुवाकोटको विकास र समृद्धिलाई केन्द्रमा राखेर विभिन्न अभियान सञ्चालन गरिरहेका छन् ।


२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका उनी निर्वाचनमा पराजित भए । यसपटक उम्मेदवार बन्ने अवसर नपाए पनि केही समय विचलित भएका उनीमा पछिल्ल दिनमा भने पार्टीप्रतिको प्रतिबद्धतामा कुनै कमी आएको छैन । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनी संगठन निर्माणसँगै जिल्लामा सामाजिक अभियानलाई निरन्तर अघि बढाइरहेका छन् ।


राजनीतिक गतिविधिभन्दा पनि अहिले उनको ‘हरियो नुवाकोट अभियान’ बढी चर्चामा छ । बाँझिँदै गएका पाखाबारी, कान्ला र खाली जमिनलाई फलफूल खेतीमार्फत पुनः उत्पादनशील बनाउने लक्ष्यसहित उनले निःशुल्क कागती र सुन्तलाका बिरुवा वितरण अभियान सञ्चालन गरेका छन् । गाउँमा हरियाली विस्तार गर्दै कृषकको आम्दानी बढाउने दीर्घकालीन उद्देश्यका साथ अघि बढाइएको यो अभियानले छोटो समयमै उल्लेखनीय प्रभाव देखाउन थालेको छ ।


वैदेशिक रोजगारी र बसाइँसराइका जिल्लाका धेरै गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेका थिए । तर अहिले उनको यो अभियानसँगैे त्यही जमिनमा कागती र सुन्तलाका बिरुवा रोप्ने क्रम बढ्दै गएको छ । कृषकहरू पनि भविष्यमा फलफूल उत्पादनबाट नियमित आम्दानी गर्न सकिने आशामा अभियानसँग जोडिन थालेका छन्।


नुवाकोटको नुवाकोट दरबार क्षेत्रमा जन्मिएका पाण्डेले आफ्नो जन्मथलो नुवाकोटलाई फलफूल उत्पादनको नमुना जिल्ला बनाउने लक्ष्य राखेका छन् । विगत दुई वर्षदेखि जिल्लाका १२ वटै स्थानीय तहमा सुन्तला र कागतीका बिरुवा वितरण अभियान सञ्चालन हुँदै आएको छ ।
चालु आर्थिक वर्षका लागि जिल्लाभरबाट ३ हजार २ सय ४० वटा कागती र २८ हजार १ सय ७५ वटा सुन्तलाका बिरुवा गरी ३१ हजार ४ सय १५ वटा बिरुवाको माग संकलन गरिएको छ। हालसम्म किस्पाङ र म्यागङ गाउँपालिकामा मात्रै १४ हजार ४ सय ६५ वटा बिरुवा वितरण भइसकेको छ भने बाँकी स्थानीय तहमा पनि चरणबद्ध रूपमा वितरण भइरहेको छ।


पाण्डेका अनुसार अभियानको उद्देश्य बिरुवा वितरणमा मात्र सीमित छैन। उपयुक्त स्थान छनोट, गुणस्तरीय बिरुवाको व्यवस्था, प्राविधिक परामर्श र नियमित अनुगमनमार्फत उत्पादन सुनिश्चित गर्नु अभियानको मुख्य प्राथमिकता हो। अहिले खाडल निरीक्षण, प्राविधिक परीक्षण र वितरण व्यवस्थापनलाई तीव्र बनाइएको छ।


अभियानको विस्तार पनि वर्षेनी बढिरहेको छ। सन् २०२४ मा तारकेश्वर र म्यागङ गाउँपालिकामा २४ हजार ९ सय ३३ वटा बिरुवा वितरण गरिएको थियो। त्यसपछि सन् २०२५ मा जिल्लाका ११ वटा स्थानीय तहमा ५७ हजार २ सय ८० वटा सुन्तला र कागतीका बिरुवा वितरण गरियो। यस वर्ष पनि वितरणको दायरा अझ फराकिलो बनाइएको छ । बिरुवा वितरणसँगै कृषकमा नयाँ उत्साह थपिएको छ । धेरैले बाँझो पाखाबारीलाई व्यावसायिक बगैंचामा रूपान्तरण गर्ने तयारी थालेका छन् भने युवापुस्ताले गाउँमै बसेर फलफूल खेतीमार्फत रोजगारी सिर्जना गर्न सकिने सम्भावना देख्न थालेका छन् । उनको अभियानबाट लाभान्वित भएका एक किसानका अनुसार यस्तो अभियानले खेतीप्रतिको आकर्षण बढाउनुका साथै वातावरण संरक्षण, भू–क्षय नियन्त्रण र बाँझो जमिनको सदुपयोगमा महत्वपूर्ण योगदान पु¥याउनेछ। उत्पादन बढेसँगै नुवाकोटका सुन्तला र कागती काठमाडौंसहित देशका अन्य बजारमा पनि पुग्ने अपेक्षा गरिएको छ ।


पाण्डेका अनुसार ‘हरियो नुवाकोट अभियान’ केवल वृक्षारोपण कार्यक्रम होइन, वातावरण संरक्षण र आर्थिक समृद्धिलाई जोड्ने दीर्घकालीन अभियान हो। अभियानले कृषकको आयस्तर वृद्धि, ग्रामीण रोजगारी सिर्जना, जलस्रोत संरक्षण र कृषि उत्पादन विस्तारलाई समान रूपमा प्राथमिकता दिएको छ।


“हामी बिरुवा मात्रै बाँडिरहेका छैनौँ, नुवाकोटको भविष्य रोपिरहेका छौँ,“ पाण्डे भन्छन्, “यदि गुणस्तरीय बिरुवा सही स्थानमा रोपेर उचित हेरचाह गर्न सकियो भने केही वर्षमै नुवाकोट व्यावसायिक सुन्तला र कागती उत्पादनको परिचय बोकेको जिल्ला बन्न सक्छ ।“ राजनीतिमा सक्रिय रहँदै सामाजिक अभियानलाई निरन्तरता दिएका पाण्डेको यो प्रयासले विकास केवल सरकारी योजनाबाट मात्र होइन, व्यक्तिगत पहल र सामूहिक सहकार्यबाट पनि सम्भव हुन्छ भन्ने सन्देश दिएको छ। स्थानीय तह, कृषक र अभियानबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै आगामी वर्षहरूमा पनि बिरुवा वितरणलाई निरन्तरता दिने योजना छ । हरियालीसँगै आम्दानीको आधार विस्तार गर्ने यो अभियानले नुवाकोटका गाउँमा केवल बिरुवा मात्र रोपेको छैन, समृद्ध भविष्यप्रतिको आशा पनि सँगै रोपिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *