पारिवारिक भ्रमणमा नुवाकोट पुगे प्रचण्ड, सहकर्मीको घरमा भोजनपछि राजधानी फर्किए

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २४, बुधबार १४:०८

नुवाकोट । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पारिवारिक भ्रमणका क्रममा नुवाकोट आएका छन्। छोरी गंगा दाहालसहित मंगलबार नुवाकोट पुगेका प्रचण्डले यसपटक राजनीतिक कार्यक्रमभन्दा पारिवारिक भेटघाट र शान्त वातावरणमा समय बिताउन प्राथमिकता दिएका हुन्।


जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तथा नेकपा नेता रजिन्द्र विक्रम ठकुरीका अनुसार अध्यक्ष दाहालको यो भ्रमण पूर्ण रूपमा पारिवारिक भएकाले जिल्लाका राजनीतिक गतिविधि वा औपचारिक कार्यक्रम राखिएको थिएन। यही कारण अधिकांश पार्टी नेता–कार्यकर्तासँग विस्तृत भेटघाटको कार्यक्रमसमेत तय गरिएको थिएन।


प्रचण्ड मंगलबार विदुर नगरपालिका–२ स्थित एक फार्महाउसमा बसेका थिए। सो क्रममा जिल्ला समन्वय प्रमुख ठकुरी, विदुर नगरपालिका–५ का वडाध्यक्ष लिलानाथ न्यौपाने, नेता बद्री प्याकुरेललगायत केही स्थानीय नेताहरूले उहाँसँग शिष्टाचार भेट गरेका थिए।


प्रचण्डको सचिवालयका अनुसार भ्रमण पारिवारिक भएकाले अन्य नेताहरूसँग छुट्टै भेटघाट गर्ने इच्छा अध्यक्ष दाहालले व्यक्त नगरेका थिए। यद्यपि, उपलब्ध रहेका केही नेता तथा कार्यकर्तासँग भने उहाँले संक्षिप्त भेटवार्ता गरेका थिए।


बुधबार बिहान प्रचण्डले आफ्ना स्वर्गीय सहकर्मी तथा पूर्वउपप्रधानमन्त्री पोस्टबहादुर बोगटीको निवासमा पुगेर उहाँकी धर्मपत्नी राममाया बोगटीको निमन्त्रणामा पारिवारिक भोजन गरेका थिए। भोजनपछि उहाँ राजधानी काठमाडौं फर्किएको सचिवालयले जनाएको छ।


प्रचण्डको यो भ्रमणलाई विशुद्ध पारिवारिक र अनौपचारिक रूपमा हेरिएको छ। राजनीतिक भेटघाटभन्दा पारिवारिक सम्बन्धलाई प्राथमिकता दिँदै उहाँले नुवाकोटमा छोटो समय बिताएर काठमाडौं फर्किनुभएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *