परिवर्तन नेपालद्वारा कृष्ण भट्टराई, शारदा गिरी र विश्वदीप घिमिरे स्मृति पुरस्कारबाट सम्मानित हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २५, बिहीबार ०७:३१

काठमाडौं । परिवर्तन नेपालले २०८२ सालका विभिन्न स्मृति पुरस्कार तथा विशेष सम्मान प्राप्त गर्ने व्यक्तित्वहरूको नाम सार्वजनिक गरेको छ। संस्थाका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले सञ्चारकर्मी कृष्ण भट्टराईलाई ‘चेतन कार्की स्मृति पुरस्कार–२०८२’ प्रदान गर्ने निर्णय गरेको हो।


चलचित्र क्षेत्रको विकास, विस्तार तथा चलचित्रकर्मीको पेशागत उत्थानका लागि दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामार्फत योगदान पुर्‍याएको कदरस्वरूप भट्टराईलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको परिवर्तन नेपालले जनाएको छ। चेतन कार्की स्मृति पुरस्कार २०७९ सालमा स्थापना गरिएको हो।


त्यसैगरी, चार दशकदेखि नेपाली चलचित्र तथा टेलिचलचित्र क्षेत्रमा निरन्तर अभिनय गर्दै आएकी कलाकार शारदा गिरी तथा दुई दशकभन्दा बढी समयदेखि रंगमञ्च, चलचित्र र टेलिचलचित्रमा निर्देशन तथा अभिनयमार्फत योगदान दिँदै आएका विश्वदीप घिमिरेलाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार–२०८२’ प्रदान गर्ने निर्णय गरिएको छ। यो पुरस्कार २०७३ सालमा स्थापना भएको हो।


दुवै स्मृति पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ। पुरस्कार छनोट समितिका सदस्य शान्तिप्रिय, सुन्दर श्रेष्ठ तथा परिवर्तनकर्मी माधव खरेलको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो।


यसैबीच, परिवर्तन नेपालले आफ्नो स्थापनाकाल २०५३ सालदेखि विभिन्न स्रष्टा, सर्जक तथा संस्थासँग आबद्ध चलचित्रकर्मीलाई सम्मान गर्दै आएको परम्परालाई निरन्तरता दिँदै यस वर्ष आर्यन सिग्देल, आशान्त शर्मा, सरोज ओली र देवेन्द्र थुम्केलीलाई ‘परिवर्तनकर्मी विशेष सम्मान’ प्रदान गर्ने निर्णय पनि गरेको छ।


त्यस्तै, चलचित्र प्राविधिकहरूको पेशागत हकहितका लागि सक्रिय रहँदै आएका छायाकार वीरेन्द्र प्रसाद भट्ट तथा गीत–संगीत पत्रकारिता र अवार्डमार्फत संगीत क्षेत्रको प्रवर्द्धनमा योगदान दिँदै आएकी सविता पोखरेललाई ‘परिवर्तन विशेष सम्मान’ प्रदान गरिने भएको छ।


परिवर्तन नेपालका महासचिव देवेन्द्र पाण्डेद्वाराजारी विज्ञप्तिअनुसार सबै पुरस्कार तथा सम्मान आगामी श्रावण महिनाको तेस्रो सातामा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *