काठमाडौं, असार २५ – नेकपा (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको छ।
महासचिव शंकर पोखरेलद्वारा जारी पत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार गठित उक्त कार्यदलमा एमालेका तर्फबाट डा. भीम अधिकारी प्रारम्भिक चरणमा सहभागी भए पनि कार्यदलको कामकारबाही सुरुदेखि नै सन्दिग्ध प्रकृतिको रहेको उल्लेख गरिएको छ।
एमालेले संविधान संशोधनका विषय स्पष्ट नभएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट हुन नसकेको तथा छलफलमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मविपरीत देखिएको भन्दै सरकारसँग आफ्नो धारणा स्पष्ट गर्न माग गरेको जनाएको छ।
पार्टीले वर्तमान संविधानका आधारभूत विशेषतालाई अझ सुदृढ बनाउने र व्यवहारमा देखिएका कमजोरी सुधार गर्ने उद्देश्यका साथ संविधान संशोधन हुनुपर्ने आफ्नो अडान दोहोर्याएको छ। तर, सरकारबाट पार्टीका प्रस्तावबारे कुनै स्पष्ट जवाफ नआएको भन्दै कार्यदलमा रहेका पार्टी प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाउने निर्णय गरिएको पत्रमा उल्लेख छ।
एमालेको यो निर्णयसँगै संविधान संशोधन बहसपत्र तयारी कार्यदलको आगामी कामकारबाही र राजनीतिक सहमतिमा नयाँ प्रश्न खडा भएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्