सरुवा विवादमा नेपाल प्रहरीको स्पष्टीकरण : ‘अख्तियारसँग सम्बन्धित होइन, नियमित प्रक्रिया मात्र

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २५, बिहीबार १६:२१


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही वरिष्ठ प्रहरी अधिकृतहरूको काज तथा सरुवालाई लिएर सार्वजनिक भएका समाचारप्रति नेपाल प्रहरीले औपचारिक धारणा सार्वजनिक गरेको छ।


नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित प्रहरी अधिकृतहरूको काज तथा सरुवा प्रचलित कानुनी व्यवस्था र स्थापित प्रशासनिक प्रक्रियाअनुसार नियमित कर्मचारी व्यवस्थापनका क्रममा गरिएको जनाएको हो।


प्रहरीका अनुसार उक्त सरुवा कुनै विशेष घटना, अनुसन्धान, उजुरी वा अन्य विवादसँग सम्बन्धित नभई नियमित प्रशासनिक प्रक्रिया हो। यसलाई विभिन्न कोणबाट जोडेर समाचार र टिप्पणी प्रकाशित तथा प्रसारित गरिएकाप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।


प्रहरीले तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा समाचार सम्प्रेषण गर्दा नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर हुने र नियमित प्रशासनिक प्रक्रियासमेत अनावश्यक विवादमा तानिने अवस्था आउने जनाएको छ।


नेपाल प्रहरीले सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई तथ्यमा आधारित र आधिकारिक जानकारीका आधारमा मात्रै सूचना सम्प्रेषण गर्न आग्रह गर्दै आफू कानुनी व्यवस्था, पारदर्शिता, निष्पक्षता र स्थापित प्रशासनिक प्रणालीको पालना गर्दै जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *