‘सरकारले भाषण होइन, परिणाम दिनुपर्छ’ : राजेश हमाल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २५, बिहीबार १८:०२

काठमाडौं। नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले सरकारको मूल्याङ्कन प्रतिबद्धता वा घोषणाभन्दा पनि जनतासामु प्रस्तुत गरिएका परिणामका आधारमा हुनुपर्ने बताएका छन्।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले कुनै पनि सरकारको पहिलो सय दिनको मूल्याङ्कन उसले लिएको दिशा, जवाफदेहिता, रोजगारी, न्याय र सुशासनका क्षेत्रमा हासिल गरेका उपलब्धिका आधारमा गरिनुपर्ने उल्लेख गरेका छन्। उनले आजका नेपाली नागरिकले भाषणभन्दा बढी परिणामको अपेक्षा गरेको बताएका छन्।


हमालले अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धाबीच नेपालले सधैँ आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीति सञ्चालन गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्। सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध कायम राख्नुपर्ने भए पनि कुनै पनि बाह्य शक्तिको प्रभावले नेपालको सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतामा असर पर्न नहुने उनको भनाइ छ।


हालैको युवा आन्दोलनले जनताभित्र रहेको असन्तुष्टि र परिवर्तनको चाहनालाई उजागर गरेको उल्लेख गर्दै उनले शान्तिपूर्ण विरोधलाई लोकतन्त्रको आधार मानेका छन्। तर हिंसा, आगजनी र आपराधिक गतिविधिलाई लोकतान्त्रिक अभ्यासको हिस्सा मान्न नसकिने स्पष्ट गर्दै लोकतान्त्रिक अधिकार प्रयोग गर्ने नागरिक सम्मानका पात्र भए पनि कानुन उल्लङ्घन गर्ने जोसुकैलाई निष्पक्ष रूपमा कानुनी दायरामा ल्याइनुपर्नेमा जोड दिएका छन्।


हमालले राष्ट्रको वास्तविक शक्ति संस्थाहरूलाई सबल बनाउने, विधिको शासनलाई सुदृढ गर्ने र दलगत स्वार्थभन्दा माथि उठेर नेपाललाई प्राथमिकतामा राख्ने संस्कृतिमा निहित रहेको बताएका छन्।


सन्देशको अन्त्यमा उनले सबैलाई विवेकशील, एकताबद्ध र राष्ट्रप्रति समर्पित हुन आह्वान गर्दै विभाजनभन्दा विवेकको विजय हुने र राजनीतिक विचारधाराभन्दा नेपालप्रतिको प्रेम महान् हुने समाज निर्माण गर्नुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *