नुवाकोट । सरकारले आर्थिक वर्ष २०८३/०८४ देखि लागू हुने गरी संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता कर’ लगाउने निर्णय गरेपछि विभिन्न निजी विद्यालयहरूले अभिभावकलाई सूचना जारी गर्दै नयाँ व्यवस्थाबारे जानकारी गराउन थालेका छन्।
अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले जेठ १५ गते प्रस्तुत गरेको बजेटमार्फत विद्यालयमा अभिभावकले बुझाउने सम्पूर्ण शुल्कमा ३ प्रतिशत शिक्षा समता कर लगाउने व्यवस्था गरिएको हो। उक्त करको भार प्रत्यक्ष रूपमा अभिभावकमाथि पर्ने भएपछि यसको विरोध पनि बढ्न थालेको छ।
नुवाकोटका अर्किड एकेडेमी, सुभेनियर, दिव्यरत्न, स्टार लगायतका संस्थागत विद्यालयहरूले सूचना जारी गर्दै असार मसान्तभित्र बाँकी शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन्। विद्यालयहरूले श्रावण १ गतेपछि बुझाइने शुल्कमा अनिवार्य रूपमा ३ प्रतिशत शिक्षा समता कर थपिने भएकाले अतिरिक्त आर्थिक भारबाट बच्न समयमै शुल्क भुक्तानी गर्न अनुरोध गरेका छन्।
अर्किड एकेडेमी, बट्टारले जारी गरेको सूचनामा श्रावण १ गतेदेखि नेपाल सरकारको नयाँ कर व्यवस्था लागू हुने उल्लेख गर्दै असार मसान्तपछि तिरिने बाँकी शुल्कमा समेत ३ प्रतिशत कर थपिने जानकारी दिएको छ।
संविधानमा आधारभूत शिक्षालाई निःशुल्क बनाउने व्यवस्था रहे पनि निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका नाममा थप कर लगाइएको भन्दै अभिभावक तथा अन्य सरोकारवालाले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले शिक्षा क्षेत्रमा नयाँ करले अभिभावकमाथि थप आर्थिक बोझ परेको बताएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्