पुरानो कविता भाइरल भएपछि सञ्चारमन्त्री तिमिल्सिनाले लेखे नयाँ कविता

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २७, शनिबार १८:३८

काठमाडौं । पाल्पाका प्रेम आचार्यले संसद् भवनअगाडि आत्मदाह गरेपछि तत्कालीन अवस्थामा साहित्यकारका रूपमा विक्रम तिमिल्सिनाले लेखेको कविता अहिले पुनः सामाजिक सञ्जालमा भाइरल बनेको छ।


शुक्रबार मुगुका गणेश नेपालीले पेट्रोल छर्केर शरीरमा आगो लगाएपछि धेरै प्रयोगकर्ताले सञ्चारमन्त्री तिमिल्सिनालाई व्यङ्ग्य गर्दै उक्त पुरानो कविता साझा गरेका हुन्।


कवितामा तिमिल्सिनाले आत्मदाहजस्ता घटनाबाट समाज र राज्यले पाठ सिक्नुपर्ने, सम्भावित यस्ता घटनालाई समयमै रोक्नुपर्ने र प्रश्नभन्दा कर्ममार्फत जवाफ दिनुपर्ने सन्देश दिएका छन्।

यस्तो छ उहाँको कविता

मैले भनेको थिएँ-
‘उनको शरीरमा फैलिएको आगोको एक लप्का
तिम्रो दिमागमा पनि लगाऊ
र निभाऊ सम्भावित आगोका लप्काहरू!’
र आज केही वर्षपछि
मेरो दिमागमा निःसन्देह
एक हैन, असङ्ख्य लप्का लागेको छ
र अनेक कोणबाट सोचमग्न छु-
कसरी निभाउने सम्भावित आगोका लप्काहरू?
र कसरी बनाउने आगोका लप्का बिनाको समय?
हिजो प्रश्नमा म रोकिन सक्थेँ
तर आज, सक्दिन।
र प्रश्न हैन, जवाफ
समयले मसँग पनि मागिरहेको छ।
र, तिनै जवाफ शब्दमा हैन
कर्ममा लेख्न म बसेको छु
केही समयदेखि।
हामी जान्दछौँ-
हिजो
आगोका लप्काहरूलाई
नजरअन्दाज गरिएका कारण
समयमै ननिभाइएका कारण
आज
हामी ‘प्रश्न’को घेराबाट
‘जवाफ’को कठघरामा
आइपुगेका छौँ।
र हामी
आगोका लप्काहरू निभाउन
दिनरात लागेका छौं
लागिरहनेछौँ
सेवक भएर
निभाइ छाड्नेछौँ
सबैसबै सम्भावित आगोका लप्काहरू!

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *